प्रचण्डले मुख खोल्दा वेइजिङमा वर्षा, ह्वाइट हाउसमा हलचल



काठमाडौं : सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइलाई लिएर अमेरिकी दुतावासले मागेको स्पष्टिकरणबारे सांसद पम्फा भुसालले संसदमा सरकारसँग स्पष्टिकरणको माग गरेकी छन् ।

चिनियाँ विदेशमन्त्री नेपाल भ्रमण रहेका बखत नेपाल असंलग्न परराष्ट्र नीतिमा प्रतिवद्ध रहेकाले कुनै शक्ति वा अलाइन्समा संलग्न नरहने अध्यक्ष प्रचण्डले बताएका थिए ।

सत्तारुढ दलकै सांसद भुसालले आफ्नै सरकारसँग स्पष्टिकरणको माग गरेपछि पार्टी र सरकारका बीचमा देशको विदेश नीतिका बारेमा बुझाइ र गराइमा केही अन्तर रहन गएका छन् कि भनी टिप्पणीहरु पनि उठ्न थालेका छन् । इण्डो–प्यासिफिक अलाइन्समा नेपालको सरकार रहेका भन्ने अमेरिकी दुतावासको यसअघिको भनाइसँग मेल नखाने गरी चिनियाँ दुतावासले अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै नेपाल असंलग्न परराष्ट्र नीतिमै दृढ रहेको भनाइ बाहिर ल्याएपछि अन्तर्राष्ट्रिय चासो सतहमै व्यक्त हुन गएको हो ।

‘इण्डो–प्यासिफिक रणनीतिबारे नेपालको धारणा बेइजिङबाट थाह पाउनु आश्चर्य’ भएको भन्दै अमेरिकी दूतावासले टिप्पणी गरी सो बारेमा नेपाल सरकारसँग स्पष्टिकरण माग गर्दै नेपालका विदेश सचिवसँग सोधपूछ गर्न पुगेपछि भूरणनीतिक संवेदनशीलता बोकेको नेपालका लागि यो निकै गम्भीर विषय बन्न पुगेको छ । यससँगै सरकार समेत सकसमा परेको छ ।

दक्षिणतिर भारत र उत्तरतिर चीनजस्ता विश्व महाशक्तिमा उदियमान छिमेकी देशहरुका बीचमा रहेको नेपाल जस्तो सानो देशका लागि तेस्रो शक्ति अमेरिकाको चासो र दबाब आफैमा निकै अप्ठ्यारो रहेको कुटनीतिकज्ञहरुको भनाइ छ । आफ्नै देशको संवेदनशीलतालाई बुझेर तदनुरुप अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्न नसक्नु राज्य प्रमुखहरुको गम्भीर कमजोरी रहेको कुटनीतिज्ञहरुको आँकलन रहेको छ । त्यसमा पनि सत्तारुढ पार्टी र उसैको सरकारका बीचमा विदेश नीति जस्तो संवेदनशील विषयमा मतभिन्नता देखा पर्नुले नेपाल र नेपालीहरुको भविष्यमा ठूलो खतरा आइलाग्ने राजनीतिक विश्लेषकहरुको ठम्याइ छ ।

सतहमा हेर्दा अमेरिका–चीन जस्ता विश्व महाशक्ति राष्ट्रहरुका बीचमा शक्ति प्रदर्शन र खेमाबन्दीका लागि जुहारी चलेको जस्तो देखा परे पनि अन्तर्य भने अर्कै छ । नेपाली भूमि र नेपालको विदेश नीतिका जगमा यो बहस बाहिर आएकाले देशमा राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका खातिर एउटै नीति र आवाज लिएर सबै सँगसँगै अघि बढ्नु आजको आवश्यकता हुन गएको छ ।

विश्वमा महाशक्ति राष्ट्रहरुका बीचमा आआफ्ना स्वार्थ रक्षाका लागि मनोमालिन्य तथा झडपहरु निरन्तर भइरहने र नेपालजस्तो सानो र कमजोर देशले दुई ठूला छिमेकीहरुको बीचमा विकसित हुँदै गरेका सम्बन्ध र स्वार्थहरुलाई नजरअन्दाज गरेर तेस्रो पक्षको पछाडि दगुर्न थाल्ने चाहना राख्ने हो भने दक्षिणतिर वा उत्तरतिर पनि दुई पाइलाभन्दा बढी हिंड्ने ठाउँ रहने देखिदैन ।

त्यसैले छिमेकी लगायत कुनै पनि मित्रराष्ट्रसँग असंलग्नताका आधारमा विकसित गरिने वा हुने मैत्रीपूर्ण सम्बन्ध नै नेपालको सदाकालका लागि हितमा रहने कुटनीतिक वृत्तमा चर्चा छ ।

अध्यक्ष प्रचण्डको भनाइपछि छिमेकी देश चीन हर्षित भएको देखिन्छ भने अमेरिका असन्तुष्ट हुन पुगेको छ ।

भारत, चीन र अमेरिकाबीचको खटपटले नेपाल चपेटामा पर्दै आएको छ । अहिलेपनि त्यस्तै हुन पुगेको छ । केही समयअघि पनि अध्यक्ष प्रचण्डले भेनेजुएलाका विषयमा अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । त्यस बखतपनि प्रचण्डको अभिव्यक्तिलाई लिएर अमेरिका असन्तुष्ट बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्