स्मार्ट पार्किङ : न यता न उता



प्रकाश बस्याल / काठमाडौं : मंगलबार दिउँसो काठमाडौंको न्युरोडमा रहेको स्मार्ट पार्किङमा बा. ६६ प. ४६४४ नम्बरको स्कुटर टक्क अडियो । त्यसमा सवार मिलन रेग्मी करीब २० मिनेट न्युरोडका किनमेल गरे, त्यसपछि उनी स्कुटर लिन आउँदा उनको हातमा १५ रुपैयाँको बिल थमाइयो । अनामागरका रेग्मी दैनिक ८-१० पटक न्युरोड पुग्नुपर्ने हुन्छ । तर पार्किङपिच्छे १५ रुपैयाँभन्दा बढी तिरिराख्नु पर्ने उनको बाध्यता छ ।

स्मार्ट पार्किङ राम्रो अवधारण भएपनि पूर्वाधार विकास विना नै महंगो शुल्क तिर्नु परेकोमा उनी असन्तृष्ट छन् । उनी भन्छन् ‘कहिलेकाहीँ ५० रुपैयाँको सामान किन्न आउँदा अर्को ५० त पार्किङमै खर्च हुन्छ ।’ उनको गुनासो यतिमात्रै कहाँ हो र ? भनेको समयमा पार्किङ स्पेस नपाएर हैरानी पनि बेहोर्नुपरेको छ । यस्तै पार्किङबाट बा. ३२ प. ९७६२ नम्बरको मोटरसाइकल झिक्दै गरेका जाउलाखेलका ज्ञान गुरुङको गुनासो पनि उस्तै छ ।

केही वर्षअघि पार्किङ गर्दा शुल्क नलाग्ने ठाउँमा एकाएक विना पूर्वाधार नाम मात्रको स्मार्ट भन्दै चर्को शुल्क लिएको उनको गुनासो छ । उनले भने–‘स्मार्ट पार्किङ त राम्रो हो, तर विना सुविधाको शुल्क भने चर्कै भयो । २५ रुपैयाँ लिनु भनेको त धेरै ठूलो कुरा हो नि । मैले आधाघण्टा राखेँ, २५ रुपैयाँ तिरेँ । पहिला शुल्कै लाग्दैनथ्यो । अहिले त एकाएक यस्तो चर्को शुल्क तिर्नुप¥र्यो ।’ उनले स्मार्टपार्किङ नाम मात्रको स्मार्ट भएको बताए । उनी भन्छन्– ‘पानी आउँदा सवारी साधन भिज्छ, घाम लाग्दा तात्छ । के को स्मार्ट भयो त ? खोई झन् यो स्मार्टको नाममा न्युरोड साँघुरिएको छ, बरु सवारी साधन प्रवेश निषेध गरे बाटोमा हिँड्नेलाई त सहज हुन्थ्यो । यस्तो अव्यवस्थित छ ।

बाटोमा लाइन लगाएर मोटर राख्दैमा स्मार्ट हुन्छ र ?’
महानगरमा निकाय नै छैन

यता काठमाडौं महानगरपालिकाको कार्यालयमा भने स्मार्ट पार्किङसम्बन्धी जानकारी दिने कोही भेटिदैनन् । उल्टो एकले अर्को र अर्कोले अर्को देखाउँदै जाने प्रवृत्ति हाबी भएको देखियो । यसबारे काठमाडौं महानगरपालिका कार्यलयका सूचना अधिकारी बसन्त आचार्यसँग बुझ्न खोदा उनले उल्टै महानगर प्रमुखका सचिवालय प्रमुख महेश काफ्लेसँग बुझ्न आग्रह गरे । तर यता काफ्लेले आफ्नो विभागमा नपर्ने जवाफ दिए ।

सुरुका दिनमा हेरेको भए तापनि अहिले आफ्नो विभागको जिम्मेवारी नरहेको प्रस्ट्याए । जिम्मेवारी हेरफेर हुँदासमेत सूचना अधिकारीले सही सूचना प्रवाह गर्न पाएका छैनन् । महानगरपालिकाका एक कर्मचारीका अनुसार व्यापक गुनासो पछि गत साउन एक गतेदेखि पार्किङ शुल्क घटाइएको छ ।

सडक पार्किङमा इन्डोर पार्किङभन्दा बढी शुल्क लिने अन्तर्राष्ट्रिय प्रचलन रहेको सुनाउँदै उनले थपे– ‘संसारको जुनसुकै ठाउँमा पनि सडकमा पार्किङ गर्दा महलभित्र गरेकोभन्दा बढी नै लिने गरिन्छ । तर हामीकहाँ भने सडक पनि अवरोध नहोस् र सवारी चालकले सडकमा धेरैबेर पार्किङ नगरोस् भन्ने उद्देश्यले सडक पार्किङ शुल्क बढी लिने गरेको देखिन्छ । सुन्दा मामुली विषय भएपनि पार्किङबाट दैनिक लाखौं राजश्व संकलन हुने गर्छ ।

काठमाडौं महानगरपालिकाले ह्विल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडका पाँच स्थानमा असार एक गतेदेखि स्मार्ट पार्किङ सेवा सञ्चालनमा ल्याएको हो । दरवारमार्ग र न्युरोडसहित पाँच स्थानमा सञ्चालनमा ल्याइएको पार्किङ सेवामा दुई पाङग्रेको आधा घण्टा पार्किङ गर्दा १५ र १ घण्टा गर्दा २५ रुपैयाँ र चारपांग्रे सवारीको आधा घण्टाको ५० र एक घण्टाको ८० रुपैयाँ पार्किङ शुल्क लिने गरिन्छ ।

मोवाइलबाटै बुक गर्न सकिने स्मार्ट पार्किङका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गरी एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै आवश्यक स्थान बुक गर्न सकिने छ । पार्किङको लागि १५ मिनेट पहिले बुक गरी समयमै पुगिसक्नु पर्छ, नत्र बुकिङ स्वतः रद्द हुन्छ ।

प्रतिक्रिया दिनुहोस्