मुखमा घाउ आयो ? के गर्ने, के नगर्ने ?



मुखमा प्रायः दोहोरिएर आउने घाउ केही संक्रमण जस्तै विषाणु, किटाणु, जिवाणुको संक्रमण, केही भिटामिनको कमी, केही पोषक तत्वको कमीले हुन्छ भने प्राय कामको धपेडी, पानीको कमी, ज्वरो, झाडापखाला, परीक्षाको समय जस्ता स्ट्रेस र स्ट्रेनले भएको पाइन्छ।

पटकपटक देखिने अप्थस अल्सर आधाजसो वंशाणुगत कारण तर खानपान र जीवनशैलीले उत्पन्न गराउने गर्छ। यदि फोकाको रुपमा बढ्ने, रगत आउने र फुटेर घाउ बन्ने गरेको छ भने उक्त फोका जरैदेखि काटेर फ्याँक्नुपर्छ। अर्को केही खाना चपाउँदा बढ्ने र दुख्ने हो भने स्टोन पनि हुनसक्छ, जसका लागि समेत शल्यक्रिया जरुरी पर्नसक्छ।

यदि घाउ पटकपटक आउने तर एकदुई हप्तामा आफैं जाने गरेको छ भने एप्थस अल्सर हुनसक्छ। तथापि एकपटक आएर लामो समय रहने गरेको छ र उपचार गर्दागर्दै पनि रहिरहेको छ भने मुखको क्यान्सर हो कि भनेर विशेषज्ञसँग सरसल्लाह लिन जरुरी हुन्छ।

खतराका चिह्नमा निम्न पर्छन्, जसमा क्यान्सरको शंका गरी निदानका लागि बायोप्सी नै गर्न जरुरी रहन्छ।

म्युकोसामा रंङ परिवर्तन, दाग, धब्बा, पत्र हुनु
– २ हप्ता बढीसम्म घाउ निको नहुनु
– घाउमा रेशादार रौंहरु देखिनु
– सुपारी सेवनबाट म्युकोसा पूरै सेतो हुने
– घाउमा देखिनेगरी मासु बढेको देखिनु
– लगातार रगत बगिरहनु
– बिना कारण स्वाद र स्पर्शमा परिवर्तन

व्यवस्थापन
– अल्सर भएका बेला मसालेदार, तातो, चिसो र पिरो खाना खानुहुँदैन।
– पानी तथा झोलीय पदार्थ जतिसक्दो धेरै पिउनुपर्छ।
– नियमित रुपमा मनतातो नुनपानीले पटकपटक कुल्ला गर्नुपर्छ।
– दैनिक दुई पटक दाँत तथा मुखको नरम ब्रस र फ्लोरिडेटेड दन्तमन्जनले सरसफाई गर्नुपर्छ र अन्य समयमा केही खानासाथ सफा पानीले कुल्ला गर्नुपर्छ।
– दुखाइ कम गर्नका लागि बेन्जोकेन, क्लोरोहेक्जिडिन जस्ता एन्टिसेप्टिक जेल विशेषत केही खानु पाँच मिनेटअघि लगाई खाना खाँदा दुखाइ नभई खान सजिलो हुने तथा घाउ निको हुन्छ।
– दुखाइ बढी भए कम गर्ने औषधि खान सकिन्छ।

स्वास्थ्यखबर पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्