संविधान स्वीकार्दै भारतबाट बल्ल आयो शुभकामना



काठमाडौ : भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान दिवसको अवरमा शुभकामना सन्देश दिएका छन् । दुवै देशका राष्ट्र प्रमुखहरुका बीचमा यो शुभकामना–धन्यवाद आदानप्रदानबाट भारतले राजकीय तहबाटै नेपाली संविधानलाई स्वीकार गरेको सन्देश प्रवाह भएको छ ।

वि.स.२०७२ साल असोज ३ गते संविधान घोषणा हुँदैगर्दा भारतले असन्तुष्टि जनाएको थियो । यही असन्तुष्टिको अभिव्यक्तिका रुपमा नेपालले भारतबाट महिनौ नाकाबन्दी समेत खेप्नु परेको थियो । संविधान जारी भएको चारवर्षपछि बल्ल भारतले नेपालको संविधानलाई स्वीकारेको हो ।

भारतीय राष्ट्रपति कोविन्दले संविधान दिवसको अवसरमा शुभकामना दिंदै स्वयम् राष्ट्रपति र भारतीय जनताका तर्फबाट संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रेसित सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत भौगोलिक सीमासम्बन्धले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनताजनताबीचको सम्पर्कले जोडिएको बताएका छन् । भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धतासमेत् व्यक्त गरेका छन् ।

नेपालको भ्रमण गर्न आफूलाई राष्ट्रपति भण्डारीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उनले दुई देशीबीच उच्चस्तरमा आदानप्रदान हुने भ्रमणले एकअर्काप्रति द्विपक्षीय साझेदारीका प्राथमिकताहरु प्रतिबिम्बित हुने बताएका छन् ।

दुवै देशलाई उपयुक्त हुने समयमा नेपालको भ्रमण गर्न आफू प्रतीक्षारत रहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर समृद्धि र प्रगतिको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्