अन्ततः साउदी अरब पस्न सफल भए अमेरिकी सेना



काठमाडौं : तेल प्रशोधन भण्डारको रक्षा गर्ने नाममा अमेरिकाले आफ्ना सैन्य टुकडीहरु सउदी अरबमा पठाउन तम्तयारी हालतमा राखेको छ । ती सैन्य टुकडी राष्ट्रपति ट्रम्पको अन्तिम निर्देशन कुरेर बसिरहेका छन् ।

अमेरिकी सेना साउदी अरबमा पठाउन चाहनुका पछाडि ट्रम्पका दुई वटा मुख्य उद्देश्यहरुले काम गरेका छन् । पहिलो, ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतीय चुनावी दौडमा छन्, उनलाई चुनाव जित्नका लागि केही न केही मसला चाहिएको छ । यो भनेको बाह्य हमलामा अमेरिकी सेना संलग्न गराएर राष्ट्रिय सुरक्षाको कुरा गरी अमेरिकी जनताको मन जितेर भोट बटुल्नु हो । यससँगै दोस्रो उद्देश्य रहेको छ, तेल सम्राट साउदी अरबमाथि आफ्नो पकड जमाउनु र अमेरिकी दादागिरीलाई कायम राखिरहनु ।

यसका लागि ट्रम्पले आवश्यक अनुकुल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण निर्माण गरिरहेका छन् । साउदी अरबका दुई ठूला तेल प्रशोधन कम्पनीमाथि हुती विद्रोहीद्वारा जिम्मा लिइएको ड्रोन आक्रमण र तेल कम्पनीमा डरलाग्दो आगलागिपछि यसले अन्तर्राष्ट्रिय वातावरण निर्माणमा मद्दत पुर्याएको छ । साउदी अरबमा अमेरिकी सैन्य मुकामहरु खडा भएमा अमेरिकाभित्रकै बन्द रहेका कारखानाहरु पुनः सञ्चालनमा आउने र चालुरहेका कम्पनीहरु तथा सर्वसाधरण जनताले पनि सुपथ मूल्यमा पर्याप्त मात्रामा फ्युलको उपयोग गर्न पाउने भएपछि घरेलु राजनीतिक वातारण र माहौल पनि ट्रम्पको पक्षमा हुन आउने देखिएको छ ।

यही मौका छोपेर पेन्टागनले आफ्नो सैन्य तयारी पूरा गरिसकेको छ । सैन्य टुकडी, त्यसका लागि आवश्यक बन्दोबस्तीका सामानहरु तथा सूचना सञ्चारका उपकरणहरु तयारी हालतमा राखिएका छन् । यो तयारीलाई इरानद्वारा साउदी अरबमा तत्काल हुनसक्ने आक्रमण र त्यसको तत्काल प्रतिरोधको आवश्यक तयारीको रुपमा प्रचार गरिएको छ । यसैका लागि अमेरिकाले साउदी अरबको तेल प्रशोधन कम्पनीहरुमा गरिएको आक्रमण यमनका हुती विद्रोहीहरुबाट नभई इरानबाट भएको जोडतोडले हजारौंपटक दोहर्याइरहेको छ ।

भनिन्छ, पत्रकार खसोग्जीको हत्या योजनादेखि नै अमेरिकी सीआईएले योजनाबद्ध रुपमा साउदी अरब प्रवेशका लागि निरन्तर पहल गरिरहेको थियो । साउदी अरब सरकार यी योजनाहरुमा चुक्दै र झुक्दै आइरहेको छ ।

यसको पृष्ठभूमि खोतल्दै जाने हो भने साउदी अरबद्वारा यमनमा सन् २०१५ देखि जारी राखेको हुती विद्रोही दमन अमेरिकी योजनामा अघि बढाइएको थियो । तर हुती विद्रोही दमनमा साउदी अरब नराम्ररी फसेको छ, वर्षेनी यसको खर्बौ डलर स्वाहा भइरहेको छ भने अमेरिकी हतियारहरु खरिद गर्न साउदी अरब विवशहुँदै गएको छ ।

पत्रकार खसोग्जीको हत्यापछि अमेरिकाले खर्बौ डलरको थप हतियार साउदी अरबलाई भिडाइदिएर हतियार भण्डारण गर्न लगाएको छ । भनिन्छ, अमेरिकी सेना तेल प्रशोधन भण्डारका सुरक्षाका नाममा साउदी अरब पुगेमात्र पनि केही वर्ष प्रयोगमा आउने आवश्यक हातहतियार अमेरिकाले साउदी अरबलाई किन्न लगाई भण्डारण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्