महिनावारीमा मन्त्रीलाई सुख, सांसदलाई दुःख



काठमाडौं : पछिल्ला दिनहरुमा छात्राहरुले महिनावारीका कारण पढाई नै छोड्नुपर्ने अवस्था आएपछि खुलेर बोल्न थालेका छन् । खुलेर बोल्ने मात्र होईन विद्यालय तथा क्याम्पसहरुमा छुट्टै र सफा शौचालय निर्माणको अभियान नै चलाएका छन् । त्यसो त महिनावारीका विषयमा केही समय अघिसम्म नबोल्ने नेपाली समाज अहिले विस्तारै महिनावारी समस्याका विषयमा खुल्न र बोल्न थालेको छ ।

भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्यमाकुमारी अर्याल यो समस्यालाई नेपाली महिलाहरुको आम समस्या भएको बताउछिन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएको बेला– राष्ट्रपतिसँग छात्रा कार्यक्रममार्फत उमेर पुगेका छात्राहरुलाई सेनेटरी प्याड निशुल्क वितरण गर्ने योजना बनाएकी थिईन, मन्त्री अर्यालले । उनी भन्छिन्– ‘यो समस्या बाहिर कम देखिने तर भित्रभित्रै डरलाग्दो समस्या हो । यसबेला सरसफाईमा ध्यान नदिँदा क्यान्सर लगायतका रोगहरुको संक्रमण बढ्न जान्छ भने जीवन नै संकटमा पारिदिन्छ ।’

नेकपा सांसद रामकुमारी झाँक्री महिनावारीका बारेमा आफूले खुलेर बोल्दै आएको बताउछिन् । अझै पनि शिक्षित महिलाले समेत पाप र धर्म, छुत र अछुतको रुपमा चित्रित गरेको अनुभव संगालेकी सांसद झाँक्री महिनावारी भएका बेला अरु महिलासरह आफूलाई पनि गाह्रो भएको बताउछिन् । तर यसलाई सांसद झाँक्रीले व्यवस्थापन गर्दै आएकी छन् ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल महिनावारीका बेला राम्रो शौचालय नहुँदा संसद र पार्टी काममा बेलाबखत असहज महशुस भएको बताउछिन् । सांसद भुषाल यो समस्यालाई समाधान गर्न जनचेतना अभिवृद्धि गर्ने र महिलाहरुका लागि छुट्टै र सफा शौचालयको व्यवस्था गर्नुपर्ने धारणा राख्छिन् ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगर महिनावारीका बेला महिलाहरुमाथि हुने पीडा कम गर्न स्वस्थ्य र सरसफाईमा ध्यान दिनुपर्ने बताउँछिन् ।

आम महिलाहरु महिनावारीका पीडाबाट अछुत छैनन् । गाउँघरमा यो समस्या जिउँका तिउँ छ । छुट्टै र सफा शौचालयको अभावमा कतिपय छात्राहरु महिनावारीका समयमा विद्यालय नजाने गरेको तथ्यहरु पनि बाहिर आएका छन् । महिनावारीका कराण हुने शारीरिक र मानसिक तनावले कतिपय छात्राहरु बीचमै पढाई छोड्नुपर्ने बाध्यता पनि उत्पन्न भएका उदाहरण छन् ।

गाउँघरको त के कुरा शहर बजारमा पनि कतिपय ठाउँमा महिलाका निम्ति छुट्टै शौचालयको व्यवस्था छैन भने सफाको त कुरै छोडौँ । मुलुकको विधायिकाका रुपमा रहेको संसद र केन्द्रीय सचिवालय रहेको सिंहदरबारमा समेत सफा शौचालयको व्यवस्था नहुँदा महिला सांसदहरुले असहजता महशुस गर्दै आएका छन् । कहिले काहीँ त दिनभर शौचालयमा पानीसमेत नहुने र संसद् सचिवालयमा नै शौचालय एकदम अव्यवस्थित रहेको महिला सांसदरुहको गुनासो रहँदै आएको छ । त्यस्तै महिला सांसदहरुले त्यहाँ ट्वाइलेट पेपरको व्यवस्था पनि नहुँदा थप समस्या व्यहोर्नु पर्ने वाध्यता छ । त्यस्तै महिनावारीबाट शारीरिक र मानसिक तनाव भएका वेला आराम गर्ने आराम कक्षको पनि व्यवस्था छैन ।

महिला मन्त्रीहरुलाई आरामदायी कक्ष र सफा शौचालयका व्यवस्था हुँदा महिनावारी भएका वेला पनि उनीहरुलाई सहज छ । तर महिला सांसदहरुलाई भने न संसद भवनमा न त सिंहदरबारमा भनेजस्तो शौचालय छ । त्यसैले महिला सांसदहरुले महिनावारी हुँदा पीडासँगै दुःख पनि सहनुपर्ने वाध्यता छ ।

के हो महिनावारी
महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो । तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो । महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुश हुने हुन्छ । चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो ।

तर, महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड र कम्मर जोडले दुख्ने, खान मन नलाग्ने र नियमित दैनिक कामसमेत गर्न गाह्रो हुन्छ भने त्यो एक किसिमको समस्या हो । उमेर पुगेका पाका वा विवाहित महिलामा भन्दा यस्तो समस्या भर्खरै महिनावारी सुरु भएका युवतीमा, अविवाहितमा धेरै देखिने गर्दछ । चिकित्सकीय भाषामा महिनावारीको समयमा हुने पीडालाई डिस्मेनोरिया भनिन्छ ।

डिस्मेनोरियाले सताएका महिलाहरूलाई लामो समयसम्म दुखाइले सताइरहन्छ । कतिपय अवस्थामा त दुखाइ लगातार ८–१० घण्टासम्म पनि हुन सक्छ । दुखाइ अत्यधिक हुँदा महिलाले पेन किलरको सेवन गर्छन् । निश्चित मात्रामा पेन किलर सेवन गर्नु उचित भए पनि जथाभावी पेन किलर सेवन गर्नु झन् घातक हुने चिकित्सकहरू बताउँछन् । त्यसकारण दुखाइ बढी हुने महिलाले चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने डा भोला रिजालको सुझाव छ ।

चिकित्सकका अनुसार डिस्मेनोरियाको दुखाइबाट छुटकारा पाउन चिकित्सकको सल्लाहमा पेन किलर खानुसँगै घरमै समेत उपचार गर्न सकिन्छ । विशेषगरी महिलाले तल्लो पेटमा हलुका मालिस गर्ने, पेटमा रबरको थैली वा बोतलमा तातोपानी राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर सेक्ने गर्दा धेरै राहत पाउन सकिन्छ । यस्तै ढाड र खुट्टासमेत सेकाउन सकिन्छ । अदुवा पानी तताएर खाने, गेडागुडीको तातो झोलको सेवन गर्दा पनि दुखाइबाट छुटकारा पाउन सकिन्छ । यस्तै आफूलाई केही व्यस्त राख्दासमेत राहत हुनेछ ।

महिनावारी हुँदा के गर्ने, के नगर्ने ?
महिनावारी महिलाहरुमा हुने नियमित र सामान्य प्रक्रिया हो । यद्यपि महिनावारीका दौरान महिलाहरुले ख्याल राख्नुपर्ने धेरै कुराहरु हुन्छन् । कहिलेकाही सानोतिनो हेलचेक्र्याइले पनि ठूलो रुप लिन सक्छ । त्यसैले महिनावारी हुँदा यी कुराहरुलाई ध्यान दिन जरुरी छ ।

– महिनावारीको दौरानमा गुप्ताङ्गबाट रगत बग्छ । तर कसैकसैको हकमा रगतको ढिक्का पनि निस्कन्छ । यसलाई आमरुपमा लिनु हुँदैन । यस्तो समस्या आएको खण्डमा वेवास्ता नगरी डाक्टरकहाँ जानुपर्छ ।

– धेरै महिनाहरु आफ्नो मासिक धर्मको डेट याद राख्दैनन् । यही कारणले फेरि कहिले महिनावारी हुन्छ भन्ने उनीहरुलाई आँकलन हुँदैन । महिनावारीको अनुमान नहुँदा उनीहरुले दुःख पाउँछन् । त्यसैले महिनावारी भएको डेट याद राख्नुपर्छ ।

– महिलाहरु एउटै प्याड लगाएर दिनभरी चलाउँछन् र राति मात्रै बदल्छन् । यो ठीक होइन । लगातार धेरै घण्टासम्म एउटै प्याड लगाउँदा संक्रमणको खतरा हुन्छ । त्यसैले हरेक ६ घन्टामा प्याड फेर्नुपर्छ ।

– महिनावारीका क्रममा वा त्योभन्दा अगाडि कतिपय महिलाहरुमा कब्जियत, डायरिया, पेटको दुखाई जस्ता समस्या पैदा हुन्छ । यस्तोमा उनीहरुलाई केही पनि खान मन हुँदै । तर यी दिहरुमा खाना राम्ररी नखाँदा तपाईंको शरीर कमजोर हुनसक्छ ।

– आजकालका कतिपय महिलाहरु रक्सी पिउन बाँकी राख्दैनन् । तर यसले उनीहरुको दुखाई झनै बढ्छ । साथै सुर्ति सेवनबाट पनि बच्नुपर्छ । यसको साटो चिया र पानी धेरै पिउनुपर्छ ।

– महिनावारीको दौरान असुरक्षित यौन सम्वन्ध राख्नु हुँदैन किनकी यसले संक्रमणको जोखिम बढ्छ ।

– महिनावारीका क्रममा केही महिलाहरुलाई असैह्य पीडा हुन्छ । पीडाबाट मुक्ति पाउनका लागि उनीहरु पेनकिलर खाने गर्छन् । तर यस्तो बेलामा धेरै औषधिको सेवन हानीकारक हुन सक्छ । यसले किड्नी र फोक्सोलाई असर गर्छ । पीडाबाट छुटकारा पाउनका लागि तातो पानीले सेक्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्