बदलियो व्यवस्था, बदलिएन जनकपुरका कर्मचारीको कार्यशैली



अमेरश कुमार मिश्रा र अशोक मण्डलको स्थलगत रिपोर्ट

जनकपुरधाम : व्यवस्था परिवर्तनसँगै कर्मचारीको आचरण र बानी व्यवहारमा गरिएको परिवर्तनको अपेक्षा कर्मचारी संयन्त्रको पुरानै कार्यशैलीका कारण तुषारापात हुँदै गएको छ । प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरमा रहेका अधिकांश सरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीसँग गरेको निकै रुखो व्यवहारलाई हेर्दा उनीहरुमा अझै पनि पुरानै मानसिकताले काम गरेको देखिन्छ ।

जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरु मालपोत, नापी, यातायात, श्रम, राजस्व, भन्सार, वन, घरेलु लगायतका कार्यालयका कर्मचारीको व्यवहारमा कुनै परिवर्तन देखा नपरेको जनगुनासो बढेको छ । मालपोत कार्यालयमा पिउनदेखि लिएर शाखा अधिकृतसम्मले सेवा दिएबापत सेवाग्राहीसँग अनाधिकृत रकम लिने गरिरहेको गुनासो छ । हरेक सेवाग्राहीको जग्गा रजिष्ट्रेशन गर्दा कर्मचारीले अनावश्यक रकम लिइरहेका छन् ।

धनुषाको हंसपुर नगरपालिका ९ मोरहाका कृष्ण मण्डलले भूमिव्यवस्था तथा मालपोत कार्यालयमा २ कठ्ठा दश धुर जग्गा रजिष्ट्रेशन गर्दा लगातार तीन दिन कुर्नुपर्यो । लेखनदासलाई ६ हजार रुपैयाँ तिरेर श्रेस्ता मिलाएर मालपोतमा जग्गा पास गर्न आएका मण्डलले कर्मचारीको व्यवहारमा परिवर्तन आएको देखेनन् ।

कर्मचारीले काम गरिदिन आलटाल गर्ने गरेकाले आफूजस्तै सेवाग्राहीले सास्ती झेल्नु परेको उनको भनाइ छ । उनी भन्छन्– ‘दर्ता, नवीकरण, नामसारी, पूर्जा निर्माण गर्ने यस अडका कर्मचारीले खुल्लामखुल्ला पैसा बार्गेनिंग गर्छन् ।’

यातायातका साधनहरुको लाइसेन्स लिन पनि भनेजति रकम दिएपछि मात्र लिखित, मौखिक र ट्रायलमा समेत पास गराई सवारी चालक प्रमाणपत्र दिने गरिएको छ । यसमा यातायात कार्यालयसँग धेरै विचौलिया पनि जोडिएका छन् । त्यसै गरी श्रम कार्यालयले पनि ढिलासुस्ती गरी सास्ती दिने गरेको छ । स्थानीय सेवाग्राहीले आफूहरुले काठमाडौंभन्दा पनि बढि दुःख पाएको गुनासो गरिरहेका छन् । कहिलेकाही त कर्मचारीहरु सेवाग्राहीमाथि कुटपिटमै उत्रने गरेका घटनाहरु पनि छन् । केही समय अघि मात्र श्रम कार्यालयका तत्कालिन निमित्त प्रमुख मनोज यादव र उनकै सालो पर्ने कम्प्युटर अपरेटर सरोज यादवले सेवाग्राही जामुन पूर्वेलाई लछारपछार र कुटपिट गरेका थिए । पूर्वेको कमजोरी भनेको ‘मेरो काम किन भएन’ भनेर सोध्नु थियो ।

द नेपालटपले हालै गरेको एक सर्वेक्षणमा नापी, राजश्व, भन्सार, वन, घरेलुलगायतका कार्यालयका कर्मचारीको व्यवहारमा पनि सुधार नआएको देखाएको छ । सर्वेक्षणका क्रममा सरकारी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग शासकीय व्यवहार गर्ने गरेको गुनासो पाइएको थियो ।

कतिपय कार्यालयका कर्मचारी कार्यालय समयमै मस्त सुतिरहेको अवस्थामा भेटिएका थिए भने कतिपय चाही कार्यालयको सोफामा सुतेर फेसबुक चलाइरहेका थिए ।

कर्मचारीको सोच र बानी व्यवहारमा क्रमशः सुधार आउँदै गरेको बताउने कार्यालय प्रमुखहरुको गुनासो भने बिचौलियाको कारणले कर्मचारी बदनाम भएको भन्ने रहेको छ । श्रम कार्यालयका प्रमुख सुवोध महतो भन्छन्– ‘अहिलेका सेवाग्राही बाठा छन्, अनाधिकृत पैसा बुझाउँछन् जस्तो मलाई लाग्दैन, तर बिचौलियाले काम छिटो गराइदिन्छु भनेर पैसा लिने गरेको भन्ने सुनेको छु ।’

त्यसैगरी मालपोत कार्यालयका प्रमुख बासुप्रसाद कोइरालाले आफ्ना कर्मचारीले घुस खाएको प्रमाण भए आफूलाई पनि उपलब्ध गराउन र समाचार बनाएर प्रकाशन गर्न आग्रह गरे ।

जनकपुर नापी कार्यालयका प्रमुख शत्रुघनप्रसाद यादवले पुरानो पुस्ताका कर्मचारीभन्दा नयाँ पुस्ताका कर्मचारीको व्यवहारमा समयसापेक्ष परिवर्तन आएको बताए । यादवले सोच र कार्यशैलीमा परिवर्तन ल्याउन सचेतना अभियान चलाउनुपर्ने बताए । सबै निकायहरुमा कर्मचारीलाई समान व्यवहार गर्ने सरकारी नीतिको अभाव रहेको र यसै कारण सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्दै आएको कर्मचारीको गुनासो रहेको छ ।

बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेका सरकारी निकाय र कर्मचारीमाथि उच्च निगरानी बढाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्