जथाभावी ‘प्रेस’ लेखे कारबाही



सिरहा : नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । 

 

शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतलाई बदनाम गराउनेलाई कारबाही गर्ने निर्णय गरेको हो । 

 

केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा गलत क्रियाकलापसमेत गरिरहेको पाइएकाले त्यस्ता कार्य यथाशीघ्र रोक्न कारबाही गर्ने निर्णय गरेको महासङ्घ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले जानकारी दिए । 

 

साधारणसभाले सिरहामा रहेको महासङ्घको भवन व्यवस्थित गर्दै लहानका लागि नयाँ भवन बनाउन समिति गठन, निष्क्रिय पत्रकारलाई ससम्मान बिदाइ तथा सक्रिय पत्रकारलाई सदस्यता र नवीकरण गर्ने निर्णय पनि गरेको छ । 

 

यसैगरी विभिन्न क्षेत्रका स्रष्टालाई वार्षिकरूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने र महासङ्घको कामकाजलाई व्यवस्थित गर्न एक कर्मचारी नियुक्ति गर्ने निर्णय पनि गरिएको अध्यक्ष गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्