भूकम्प पीडितले टहरामै राखे जमरा



धादिङ : दसैँ सुरु भएसँगै धेरैका घरमा रौनक छाएको छ । तर, १२ वैशाख ०७२ को भूकम्पले छानोविहीनका टहरामा दसैँ आउन सकेको छैन । गाउँघरमा दसैँका गीत गुञ्जिन थालिसकेको छ । तर, भूकम्पले दिएको चोटका आफ्नै भाकाले प्रभावित छक्क छन् । घर भत्किएका र बस्नयोग्य नभएका प्रभावित अस्थायी टहरामा दसैँ सपना बुन्दै छन् । तैपनि दसैँलाई स्वागत गर्न उनीहरूले आइतबार घटस्थापनाका दिन टहरामै जमरा राखे ।

अस्थायी टहरामा जमरा
अस्थायी टहरा त्यसमा पनि सानो कोठा । जस्ताको छानो, जस्ताकै बार । खाना पकाउने, खाने, सरसामान राख्ने, सुत्ने एकै ठाउँ । भूकम्पपछि अस्थायी टहरामा दुःखले दैनिकी चलाउँदै आएकी नीलकण्ठ नगरपालिका–१२ धादिङकी ८६ वर्षीय उजेली कुमालले अस्थायी टहरामा जमरा राखेकी छिन् ।

दसैँ आफन्त भेटभाट, ठूलाबडाबाट आशिष थाप्ने पर्व हो । उनले दुःखेसो पोखिन्, ‘जमरा राख्दै गर्दा मन भक्कानिएर आयो । दसैँले खुसी ल्याउन सकेन । टहरामा जमरा राखेको छु । बाजेबराजुदेखि चल्दै आएको रीतिरिवाज मान्नै प(यो । नमानौँ संस्कृतिको अपमान, मानौँ हाल बेहाल छ ।’

सरकारले दिने आवास सहयोगार्थ पाइने पहिलो किस्तास्वरूप उजेली कुमालले ५० हजार लिएर निर्माण सामग्री ल्याएकी छिन् । तर, निर्माण सामग्री यत्रतत्र भएको छ । पैसा अभाव तथा घर बनाउने कामदार नपाएपछि नयाँ घर बनाउने सपना अधुरो रहेको उनले बताइन् । ‘सँगै जिउने, सँगै मर्ने, सुखदुःखमा साथ दिने श्रीमान् गुमाएको वर्षौँ भयो,’ उनले भनिन्, ‘श्रीमान् गुमाए पनि साथमा छोरा छ भनेर चित्त बुझाएको थिएँ । तर, छोरो बितेको पनि चार–पाँच वर्ष भइसक्यो । परिवारमा सानो नाति र बुहारी छौँ । आम्दानीको बाटो छैन ।’

भूकम्प गएको चार वर्ष भइसक्यो । अधिकांश प्रभावितले भूकम्पपछि पुनर्निर्माण गरे पनि अझै धेरैको वास अस्थायी टहरामै छ । वृद्धवृद्धा, अपांग, बालबालिका, एकल महिला, आर्थिक अवस्था कमजोर भएकाहरू अझै अस्थायी टहरामा दुःखले दैनिकी चलाइरहेका छन् । नीलकण्ठ नगरपालिका–१२ कुमालगाउँकी काली कुमालले पनि अस्थायी टहरामै जमरा राखेकी छिन् । उनले भनिन्, ‘कति वर्ष भएँ थाहा छैन । आँखा पनि देख्दिनँ । घर बनाउन नसकेर भूकम्पपछि टहरामा बस्दै आएको छु । सानो छँदाको दसैँ सम्झेर आँसु आउँछ । दसैँ मनाइरहँदा टहरामा आफैँले राखेको जमराले गिज्याएजस्तो लाग्छ ।’

धुनीबेँसी नगरपालिका–१ धादिङका टेकबहादुर कटुवाल पनि अस्थायी टहरामा जमरा राखेको बताउँछन् । ‘घर बनाउन सकिएन । टहरामा बसेको वर्षौँ भयो,’ उनले भने, ‘रेडियोमा ‘दसैँ हो कि यो मेरो दसा’ भन्ने गीत बजिरहँदा मेरै लागि हो कि जस्तो लाग्छ । टहराको वास, छानो फेर्ने आस पूरा नभई मरिन्छ कि जस्तो लाग्छ ।’ यो समाचार आजको नयाँपत्रिका दैनिकमा अर्जुन श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्