वुमेन च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक



काठमाडौं : ‘क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि’को आयोजनामा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । असोज २९ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले पाउने ट्रफी यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली सहभागी हुनेछन् । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्सले प्रतियोगिता खेल्लेछन् । राउण्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

शीर्ष स्थानमा पुग्ने टोली स्वतः फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नुपर्ने छ । यस्तै अन्तिम स्थानमा रहने दुई टोली समूह चरणबाटै बाहिरिने छन् । प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका प्रबन्धक छुम्बी लामाले जानकारी दिए।

सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स वुमनले जनही रु २५ हजार प्राप्त गर्नेछन् । बुधबार उद्घाटन खेलमा क्याट क्विन्स काठमाडाँै र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्