कराते विवाद : सदस्यसचिव सिलवाललाई लाखेको चुनौती



काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेका कराते खेलाडीको प्रशिक्षण रोकिएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल कमजोर सावित भएका छन् । सिलवाललाई हालै नेपाल ओलम्पिक कमिटीको महासचिवमा पराजित पुरेन्द्रविक्रम लाखेले चुनौती दिँदै कमजोर बनाएका हुन् । लाखेको यो हर्कतले सदस्यसचिव सिलवाललाई मात्र नभै सिंङ्गो कराते खेलले अहिले थप चुनौंतिको सामना गर्नु परेको छ । ज्ञात रहोस्, लाखे सिलवाल गुटकै व्यक्तिका रूपमा चिनिन्छन् ।

आफूले निर्णय गरेर प्रशिक्षणका लागि खटाएका सात जना कराते प्रशिक्षकलाई कराते महासंघका सदस्यद्वयय ध्वजमान मोक्तान र रवी महर्जनले प्रशिक्षण दिन रोकेपछि सदस्यसचिव सिलवाल कमजोर सावित भएका हुन् । यो घटनापश्चात राष्ट्रिय खेलकुद परिषद ठूलो कि कराते महासंघ प्रश्न खडा भएको छ ।

करातेको प्रशिक्षण रोक्न नेपाल कराते महासंघले कुनै निर्देशन नदिएपनि महासंघका बरिष्ठ उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले करातेको प्रशिक्षण रोकेको स्रोतले जानकारी गराएको छ । लाखेले महासंघले सिफारिस गरेका प्रशिक्षकलाई राखेपले वाइपास गर्दै आफुखुशी प्रशिक्षणको जिम्मेवारी दिएको भन्दै प्रशिक्षण रोकेको जानकारी प्राप्त भएको छ । महासंघका सदस्यद्वयले करातेको प्रशिक्षण रोके पनि महासंघले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।

प्राप्त जानकारीअनुसार शक्तिको आडमा लाखेले आफुखुशी १३औं ‘साग’को लागि कराते प्रशिक्षकहरूको छनोट गरी सदस्यसचिव सिलवालको हस्ताक्षर गराएका थिए । सदस्यसचिव सिलवालले आफ्ना व्यापारी मित्र लाखेले ल्याएको सिफारिसमा आँखा चिम्लिएर हस्ताक्षर गर्दा अहिले करातेको विवाद चुलिएको हो । त्यसपछि महासंघका पदाधिकारीले लाखेले सिफारिस गरेका प्रशिक्षकहरूको बारेमा महासंघलाई कुनै जानकारी नभएको कुरा सदस्यसचिव सिलवाललाई बताएपछि उक्त निर्णय बदर भएको थियो । त्यसपछि राखेपले सातजना प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिँदै व्यवस्थापनको कार्य गर्न समेत निर्देशन दिएको थियो ।

तर विडम्वना, कराते खेलको विकासमा सधैं भाँजो हाल्दै आएका लाखेले यो पटक पुनः राखेपले गरेको निर्णयलाई चुनौती दिँदै करातेलाई विवादमा होम्ने कार्य गरेका छन् । लाखे आफ्ना व्यापारी मित्र सिलवाल राखेपको सदस्यसचिव भएको अनुचित लाभ उठाउँदै गैरकानुनी हरकत गर्न उद्दत देखिएका छन् । परिणाम, लाखेको यो हरकतले सदस्यसचिव सिलवाल पनि विवादमा तानिएका छन् ।

लाखेले यसअघि पनि १३औँ सागमा छनोट भएका कराते खेलाडीहरूको लिस्टमा अन्य दुईजना खेलाडीको नाम थपेर करातेमा विवाद उत्पन्न गरेका थिए । लाखेले उक्त नाम कराते महासंघका कार्यकारी अध्यक्ष दावा गुरुङले हस्ताक्षर गरेको नामावलीकोे लिस्टमा पुनः दुईवटा पराजित खेलाडीको नाम हातले थपेर विवाद उत्पन्न गरेका थिए । त्यसपछि पुनः खेलाडीहरूको छनोट गराउनु परेको स्रोतले बताएको छ । यो कुरा कराते महासंघले गोप्य राखेपनि असोज २७ गते घटेको घटनापछि छताछुल्ल भएको हो ।

हामीले भरखरै विवादवाट मुक्त भएको करातेमा पुनः विवाद नहोस् भनेर यो घटनालाई गुपचुप राखे पनि उहाँ अर्थात पुरेन्द्र विक्रम लाखेको हस्तक्षेप बढ्दै गएपछि अहिले सार्वजनिक गर्न बाध्य भएको एक महासंघका पदाधिकारीले बताए । सबै कुराको सीमा हुन्छ, नियम–कानुन हुन्छ, पावर छ भन्दैमा जे पनि गर्न मिल्छ, मिल्दैन भन्दै अब करातेमा वार कि पारको लडाईं हुने प्रस्ट पारे ।

जहिले पनि करातेलाई आफ्नो पेवा मान्दै आएका लाखेले अहिले पनि शक्तिको दुरुपयोग गर्दै करातेलाई विवादमा ल्याएका छन् । लाखे खेलकुदमा विभिन्न तिकडम मच्चाउँदै सधैंभरि पद र पावर बस्दै आएका व्यक्ति हुन् । करातेको सिँढी बनाएर राखेप सदस्यदेखि ओलम्पिक कमिटीको उपाध्यक्षसम्म बन्न सफल लाखे अहिले कुनै पदमा छैनन् ।

तर आफ्नो गुटको व्यक्ति राखेपको सदस्यसचिव सिलवाल भएको हुँदा उनको फुर्तिफार्ती सदस्यसचिवको भन्दा कम छैन । अन्यथा खेलकुद र ओलम्पिक कमिटीबाट लखेटिएको व्यक्ति १३औँ सागको खेल सामग्री तथा पोसाक व्यवस्थापन समितिको अध्यक्ष कदापि बन्ने थिएन । यो कमाउ समितिमा पहिले अन्य व्यक्ति नाम भएपनि ओलम्पिकको महासचिवमा पराजित भएपछि लाखेको नाम राखिएको होे ।

यसरी यतिबेला आफ्नै मित्र लाखेका कारण सदस्यसचिव सिलवाल नराम्रोसँग रेटिरहेका छन् । अन्यथा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०को पूर्वसन्ध्यामा सिलवालले कराते विवाद कदापी खेप्नु पर्ने थिएन । असोज २७ गतेदेखि पुनः बल्झिएको करातेको विवादले भुसमा लागेको आगोको रुप लिने प्राय निश्चित छ । यस्तो अवस्थामा अव सिलवालका लागि कराते प्यारो हुन्छ कि लाखे त्यो हेर्न लायक बनेको छ । घटना र विचार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्