कांग्रेस महासमिति बैठक: संशोधन आज ल्याउने,  भोलि समापनको तयारी



काठमाडौं: नेपाली कांग्रेसको जारी महासमिति बैठक आज बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

 

यलम्वर पार्टी प्यालेस रामशाहपथमा बसिरहेको महासमिति बैठक निर्धारित समय सकिँदा समेत मुख्य एजेन्डा विधान संशोधन प्रस्तावले प्रवेश पाएको छैन । केन्द्रीय कार्यसमितिभित्र जुँगाको लडाइँलाई टुंग्याउँदै आज विधान संशोधन प्रस्ताव आउने भएको छ ।

 

‘बुधबार राति २ बजेसम्म बसेर भए पनि केन्द्रीय समितिले संशोधित विधानको प्रस्ताव टुगों लगाई छपाइका लागि प्रेसमा पठाउने कुरा भइरहेको छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने– ‘छपाइका लागि राति नै प्रेसमा पठाएर भए पनि आज १२ बजेसम्ममा महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पक्का आउँछ ।’

 

बुधबार दिउँसो बसेको केन्द्रीय समितिले मुख्य विवादित विषय पदाधिकारीको संख्या, निर्वाचन प्रणाली र सिङ्गो कार्यसमितिको संख्या टुङ्गाए पनि पदाधिकारी समावेशीताको आधारमा हुनुपर्ने भन्दै केन्द्रीय सदस्य सबैले धारणा राख्न खोजेपछि बैठक राति बस्ने गरी स्थगित भएको थियो ।

 

महासमिति बैठकमा लैजाने अन्तिम तयारीका साथ विधान मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको प्रस्तावमाथि सबै केन्द्रीय सदस्यहरुले आफ्नो मत राख्न खोजेपछि बैठक लम्बिने र महासमिति बैठक प्रभावित हुने भएपछि सभापति शेरबहादुर देउवाले महासमिति बैठक पछि छलफल गर्ने भन्दै दिउँसोको केन्द्रिय समितिको बैठक स्थगित गर्नुभएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए ।

 

विधानमा सभापतिसहित २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री र १ कोषाध्यक्ष सहित ८ जना पदाधिकारी रहने व्यवस्था गरेको छ भने कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

 

–आजदेखि बैठक पार्टी केन्द्रीय कार्यालयमा

–महासमिति बैठक भोलि शुक्रबार सक्ने तयारी

–विधान संशोधनमा पर्याप्त छलफल नहुने

 

कार्यसमितिको संख्या भने १ सय ६१ पु¥याइएको छ । केन्द्रीय समितिमा छलफल गरी विधान पारित गरेर छपाइ गरी आज महासमिति सदस्यलाई दिन भ्याइन्छ त भन्ने प्रश्नमा केन्द्रीय सदस्य हुमागार्इंले भन्नुभयो– ‘विधान छाप्न प्रेसमा १० घण्टा लाग्छ, केन्द्रीय समितिले राति दुई बजेसम्म टुङ्गो लगाएर भएपनि आज १२ बजेसम्म महासमिति सदस्यलाई वितरण गरिने छ ।

 

मंसिर २८ देखि पुस ३ गतेसम्म निर्धारण गरिएको महासमिति बैठकमा केन्द्रीय समितिले विधान संशोधनको मस्यौदा प्रस्ताव महासमितिमा पेस गर्न नसक्दा बैठक लम्बिएको हो । यलम्वर पार्टी प्यालेस हिजो बुधवारसम्मका लागि बुक गरिएको थियो । २८ गते पार्टी केन्द्रीय कार्यालयमा नाम दर्ता गरी २९ गतेदेखि लगातार यही पार्टी प्यालेसमा बैठक बसिरहेको छ ।

 

२९ गते खाना खाजासहित सम्पूर्ण खर्च सांसद उमेश श्रेष्ठले भुक्तानी गर्ने गरी मिलाइएको थियो भने १ देखि ४ गतेसम्म १हजार ५ सय जनालाई प्रति व्यक्ति ६ सय ५० रुपियाँको दरले एकछाक खाना र खाजा खुवाउने गरी पार्टी प्यालेस बुक गरिएको थियो । यो पार्टी प्यालेसको पहिलो दिनको खर्च भने प्रति व्यक्ति ७ सय ५० को दरले सांसद श्रेष्ठले भुक्तानी गर्नुहुने भएको छ । महासमिति सदस्यहरुको बेलुकीको खाना र बास बस्ने व्यवस्था भने स्वयम् सदस्यहरुले नै गर्नुपर्ने ब्यवस्था गरिएको थियो ।

 

आफ्नै खर्चमा राजधानी आएका र बेलुकी खाने र बस्ने व्यवस्था मिलाउनुपर्ने बाध्यतामा रहेका महासमिति सदस्यहरु बैठक लम्बिएसँगै मर्कामा परेका छन् । महासमिति सदस्य, परिवेक्षक, भ्रातृ संस्थाका प्रमुख, केन्द्रीय समितिका सदस्य गरी करिब १ हजार ६ सय भन्दा बढी बैठकमा सहभागि छन् । केन्द्रीय समितिको अकर्मण्यताका कारण महासमिति बैठक लम्बिएको छ भने मुख्य एजेन्डामा समेत पर्याप्त छलफल गर्ने गराउने कुरामा पनि आशंका उब्जिएको छ । पहिलो, विधान संशोधन प्रस्ताव ल्याउ नै महाभारत परेको समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्