‘हिजो आजका कुरा’ बन्दै : रमा, ऋचा, केकी र रिमा मुख्य भूमिकामा



काठमाडौं : कुनै समय नेपाल टेलिभिजनको पर्दामा एकछात्र राज गर्न सफल हास्य टेलिसिरियल थियो, ‘हिजो आजका कुरा’ । टेलिभिजनको अगाडि यो सिरियल नहेर्ने जमात कमै मात्र थियो होला । सिरियलमा मुख्य भूमिकामा थिए, सन्तोष पन्त र रमा थपलिया।

करिव १८ बर्षसम्म प्रसारण भएको यो सिरियल विविध कारणले केही बर्ष अगाडिदेखि प्रशारण हुन छाडेको छ ।

यहि ब्राण्ड र यहि नाममा अव चलचित्र बन्ने भएको छ। चलचित्रको पर्दामा कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले यो नाममा चलचित्र निर्देशन गर्न लागेका हुन् । शुक्रबार राजधानीमा यो चलचित्रको औपचारिक घोषणा गरिएको छ।

कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुमा चलचित्र निर्माण हुने बताईएको छ ।

सन्तोष सन्त र साकार पन्तको कथा रहने चलचित्रमा मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया नै मुख्य भूमिकामा देखिदैछन् । उनीहरुको साथमा चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जेबिका कार्कि, रमेश अधिकारी, सविन शाक्य, विनायक कुँइकेल, अनुष्का अधिकारीलाई देख्न सकिनेछ ।

पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा सन्दिप किस्नाको लेखन, रवि सायमीको छायांकन, हक्र्युलिस बस्नेतको गीत तथा संगीत रहनेछ । चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्