एसइई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई



काठमाडौँ : यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको हो ।

 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने बताए ।

 

‘हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ’, उनले भने, ‘उत्तरपुस्तिका छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्नेछ ।’ नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाई तोक्न निर्देशन दिइएको छ ।

 

यसअघि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्थ्याे । प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने परीक्षा नियन्त्रण कार्यालयमा आउने र त्यहीँबाट सम्परीक्षण तथा नतिजा प्रकाशन हुनेछ । 

 

सरकारले यस वर्षदेखि एसइई प्रदेशस्तरमा नै गर्ने भने तापनि आवश्यक तयारी नपुगेकाले परीक्षा नियन्त्रण कार्यालयलाई जिम्मेवारी दिइएको हो । यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदैछ । परीक्षामा करिब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्