‘रौतहट नरसंहार’ काण्ड : यही ट्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो



रौतहट : बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजाने प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ । बरामद ट्याक्टर आफताव आलमका भाई मो. महताव आलमको भएको प्रहरीको दाबी छ ।

आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना.१ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर इँट्टाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ ।

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । ०५७ जेठ २४ मा महतावले आफ्नै नाममा खरिद गरेको ट्याक्टर ०६४ चैत्र २७ गते राति बम विस्फोटका घाइते तथा मृतक बोक्न प्रयोग भएको पीडित पक्षले दाबी गर्दै आएका छन् ।

प्रमाण नष्ट गर्नकै लागि ट्याक्टर बिक्री गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा फणि महतले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्