जनकपुरमा मैथिली सम्मेलनको तयारी तीव्र



जनकपुरधाम: जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन संस्थाको आयोजनामा ७ र ८ पुसमा १६ औं सम्मेलन हुन लागेको हो ।

 

दुई दिनसम्म चल्ने सम्मेलनमा मैथिली भाषा, साहित्य र संस्कृतिबारे बृहत् रूपमा छलफल गरिने भएको छ । बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक रामभरोस कापडीले सो जानकारी दिए ।

 

सम्मेलनमा मैथिली भाषा, साहित्य कला संस्कृति क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई मिथिला रत्न, मिथिला श्री, अन्तर्राष्ट्रिय सद्भावजस्ता सम्मानबाट सम्मानित गरिने कापडीले बताए । उनका अनुसार मैथिली तथा नेपाली गायनमा ख्याति कमाएका रमा मण्डल, मैथिली भाषामा पहिलोपटक जनकपुरमा नाटक सुरु गरेका स्वर्गीय योगेन्द्र साह नेपाली र भारत विहार लदनियाका डा.जयनारायण यादवलाई मिथिला रत्नले पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

 

यसैगरी, भोजपुरी साहित्यमा दक्खल राखेका वीरगन्जका गोपाल अस्कलाई मिथिला श्री र  मुम्बईका दीपक झालाई अन्तर्राष्ट्रिय सद्भाव सम्मान प्रदान गरिने कापडीले जनाए ।

 

सम्मेलनकै क्रममा भाषाविद् डा. रामअवतार यादवले मैथिली भाषा, देवेन्द्र मिश्रले प्रदेश २ मा मैथिली शिक्षाको अवस्था, गोपाल अस्कले भोजपुरी भाषा साहित्य, सञ्जय साह यात्रीले बज्जिका र तारानन्द मिश्रले प्रदेश २ मा पुरातात्विक अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्