उपनिर्वाचन आचारसंहिता आजदेखि लागू



काठमाडौं : निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि शुक्रबारबाट लागू हुने गरी आचारसंहिता जारी गरेको छ । निर्वाचन हुने क्षेत्रभित्र संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र सरोकारवाला निकाय तथा व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला तथा स्थानीय तह सदस्यको निर्वाचन हुने तहमा निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित सरकारहरूले प्रचारप्रसार तथा नयाँ कार्यक्रम गर्न नपाउने आयोग प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए । त्यस्तै, भवन, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने आचारसंहिता पालना गर्नुपर्नेछ । सम्बन्धित सरकारले कर्मचारी सरुवा, बढुवा गर्न वा काजमा खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनुपर्ने आचारसंहिता तोकिएको छ । तर, लोकसेवा आयोग, न्याय सेवा आयोग, शिक्षा सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले नियमित रूपमा गर्ने पदपूर्तिमा भने आचारसंहिता बाधक नहुने आयोगले जनाएको छ ।

राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता मितिदेखि निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म पालना गर्नुपर्ने आचारसंहिता पनि लागू गरिएको छ । जुलुस, आमसभा, र्‍याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारीसाधन प्रयोग गर्दा, प्रचारप्रसारमा सञ्चारमाध्यम प्रयोग गर्दा, निर्वाचन खर्च गर्दा, मौन अवधि र मतदानको दिन पालना गर्नुपर्ने आचरण लागू गरिएको छ । निर्वाचन अयोगबाट अनुमति नलिएका सवारीसाधन निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाउने आयोग प्रवक्ता श्रेष्ठले बताए । आयोगले तोकेको आकारको मात्रै ब्यानर प्रयोग गर्न पाइने भए पनि पोस्टर बनाएर प्रचारमा भने रोक लगाएको छ । केही दिनमै आचारसंहिताको पूर्ण व्यहोरा आयोगको वेबसाइटबाट प्रकाशित गर्ने तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्