सिएमसीमा महिला मृत्यु घटना : मेडिकल काउन्सिलले थाल्यो अनुसन्धान



काठमाडौं : नेपाल मेडिकल काउन्सिलको टोलीले उपचारका क्रममा महिलाको मृत्यु भएको घटना सम्बन्धमा अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका लागि बिहीबार तीन विशेषज्ञ डाक्टरको टोली चितवन आएको छ । बिहीबारबाटै उनीहरू चितवन मेडिकल कलेजमा अध्ययन–अनुसन्धानमा व्यस्त भएका छन् । 

टोलीमा मेडिकल काउन्सिलका डाक्टर तथा बोर्ड सदस्यसमेत रहेका डा. कालु खत्री, डा. सुनील साह र डा. विश्वराज दवाडी छन् । खत्री नाक–कान–घाँटी, साह मनोरोग र दवाडी आकस्मिक उपचारसम्बन्धी विज्ञता भएका डाक्टर हुन् ।

टोली सदस्य डा. साहले आफूहरू प्रारम्भिक अध्ययनका लागि आएको जानकारी दिए । ‘हामीले गरेको प्रारम्भि अध्ययनका आधारमा पछि नाक–कान–घाँटी विशेषज्ञ, एनेस्थेसिस्ट र न्युरो विशेषज्ञले थप अध्ययन गर्नुहुनेछ,’ डा. साहले भने, ‘त्यसपछि मात्र निष्कर्षतिर पुगिनेछ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिपेन्द्र अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्