मन्त्रीको आक्रोशः तलब खुवाउन बैठक डाक्नुपर्ने ?



काठमाडौं : दाङको बेल्झन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको ७२औं बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयका वर्तमान पदाधिकारीमाथि आक्रोश व्यक्त गरेका छन् ।

उनले विश्वविद्यालयको बेथितिबारे सांसदबाट सुन्नुपर्ने भन्दै विश्वविद्यालयले आफूसँग पर्याप्त समन्वय नगरेको भन्दै आक्रोश पोखेका हुन् ।केही समयअघि प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संस्कृत विश्वविद्यालय सभाको बैठक बस्नमा ढिलाइ किन भइरहेको छ ? भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालयसभा बैठकका लागि उपकुलपतिले सम्पर्क गर्नुपर्ने बताउँदै विश्वविद्यालयबाट सभाका लागि भन्दा पनि बजेटसँग सम्बन्धित कामबारे मात्र पत्र प्राप्त भएको बताएका थिए ।

बैठकको अध्यक्षता गरेका सहकुलपति समेत रहेका शिक्षामन्त्री पोखरेलले पदाधिकारी विश्वविद्यालयप्रति जिम्मेवार नभएको बताए । उनले भने, तलब खुवाउन मैले बैठक डाक्नुपर्ने, पदाधिकारीले कमसेकम बैठक बोलाऔं त भन्नुपर्ने हो नि ? उनले विश्वविद्यालय विस्तारै खस्कँदै गएपछि सम्पर्क कार्यालय हटाएको बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्