दुर्गेश र भिटेनपछि किन निशानामा परे सिंखडा ?



काठमाडौ : चर्चित गायक दुर्गेश थापा र चर्चित र्यापर भिटेनलाई प्रहरीले पक्राउ गरेको चर्चा सेलाउन नपाउँदै निशानामा परेका छन् चर्चित हाँस्य कलाकार शैलेन्द्र सिम्खडा ।

विशेषगरी हाँस्यव्यंग्य कविताका लागि चर्चित सिम्खडाले गत वर्ष प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका नेता र उच्चपदस्थ अधिकारीसामु उनीहरू रातो पिरो हुने गरी व्यंग्यात्मक प्रस्तुति दिएका थिए । तर यसपटक उनले गत वर्षजस्तै नेताहरुका सामु झाको झार्नेगरी प्रस्तुती दिन पाउनेछैनन् ।

उनलाई सिस्नोपानी नेपालले देउसी भैलो टिमबाट हटाएपछि यस्तो अवस्था सिर्जना भएको हो ।
सिम्खडा विगत दुई वर्षदेखि सिस्नोपानी टिमले तिहारको अवसरमा आयोजना गर्ने देउसी भैलोमा व्यंग्यात्मक प्रस्तुति दिदै आएका थिए ।

यस विषयमा सिंखडाले माथिको आदेशका कारण तपाईंको प्रस्तुति राख्न सकिएन भन्दै सिस्नुपानीले आफूलाई नबोलाएको बताएका छन् । तर यस विषयमा सिस्नुपानी टिमका पदाधिकारीहरुले केही बोलेका छैनन् ।

सरकारका उच्चपदस्थ अधिकारीहरू उनको व्यंग्यबाट रूष्ट बनेको भन्दै यसपटक टिममा सहभागी भए कार्यक्रम हेर्न नआउने जानकारी गराएपछि सिस्नोपानीले उनलाई टिमबाट हटाएको बताईन्छ ।

दुर्गेश थापाले ह्याप्पी तिहार गीतमा नेपालको कानुनले प्रतिबन्धित गरेको गाँजा खानुपर्छ आज भन्दै गाएको र बियरको प्रचार गरेकोले उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले छाडेको थियो । यस्तै भिटेनले पनि प्रहरी निरीक्षकको बर्दी लगाएर गाँजाकै विषयमा गाएकाले उनलाई पक्राउ गरिएको थियो । दुबै गायकको गीत युट्यबबाट हटाएपछि उनीहरुलाई प्रहरीले छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्