नेपाली सिनेक्षेत्रका नायकहरुको डिभोर्स यात्रा



काठमाडौं : हिजोआज डिभोर्सको दर नेपालमा ह्वात्तै बढेको छ । सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर बैबाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन आधा बाटोमै टुंगिएको हामीले धेरै देखेका छौं ।

नेपाली चलचित्र क्षेत्रका कलाकारहरुमा पनि डिभोर्सको दर बढेको छ । चलचित्र क्षेत्रका नायिकाहरुको डिभोर्सको कुराहरु त छँदैछ, नायकहरु पनि त्यतिकै मात्रामा छन् । डिभोर्सपछि पनि मानिसले फेरि जिन्दगीलार्ई अगाडि बढाउन फेरि पनि सपना देख्छ र बाँकी जीवन बाँच्छ । यही विषयमा हामी नेपाली चलचित्र क्षेत्रका नायकहरुको डिभोर्सको कथा सुरु गरौं :-

भुवन केसी
सदावहार नायक भुवन केसी नेपाली चलचित्र क्षेत्रका एक चर्चित नायक तथा चलचित्र निर्माता हुन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । पहिली पत्नी विजया मल्लबाट दुई सन्तानपछि सुस्मिता बमजनसँग दोस्रो बिबाह गरे । तर पछि उनले सुस्मितासँग डिभोर्स गरेका छन् ।

निखिल उप्रेती
त्यस्तै ‘एक्सन किङ’ भनेर चिनिने अभिनेता निखिलको पनि अभिनेत्री सञ्चितासँगको घरजम दोस्रो हो । कोपिला उप्रेतीसँग पहिलो बिबाह गरेका थिए, उनले । सञ्चितालाई भित्र्याएसँगै यी दुवैजना केहीसमय मुम्बइ पुगेर लुकेका थिए । अहिले दुवै नेपाली चलचित्रमा क्रियाशील छन् ।

छविराज ओझा
चर्चित निर्माता छविराज ओझाले पनि अभिनेत्री रेखा थापासँग दोस्रो बिबाह गरेका थिए । तर अहिले छवि र रेखासमेत छुट्टिइसकेका छन् । छविले अहिले नायिका शिल्पा पोखरेलसँग बिबाह गरेर बसेका छन् भने डिभोर्सपछि रेखा अहिले सिङ्गल नै छिन् ।

शिव श्रेष्ठ
शिव श्रेष्ठ नेपालका एक्सन तथा मनोरञ्जनात्मक चलचित्रमा स्थापित एक ज्येष्ठ अभिनेता हुन् । उनले ठुल्दाइ, ट्रकडाइबर जस्ता कयौं चलचित्रमा अभिनय गरिसकेका छन् । नायक श्रेष्ठको जीवनसँग पनि डिभोर्सको कथा जोडिएको छ । उनले श्रीमती गंगा श्रेष्ठसँग दुई दशकभन्दा बढिको लामो सम्बन्ध ‘ब्रेक अप’ गरी अर्की एक युवतीसँग बिबाह गरेका छन् ।

प्रशन्न पौडेल
फिल्म तथा म्युजिक भिडियो ‘डिरेक्सन’ गरिसकेका प्रशन्न पौडेलको पहिलो बिबाह नायिका तथा मोडल सिम्पल खनालसँग २०६४ सालमा भएको थियो । तर उनीहरुको सम्बन्ध पनि धेरै टिकेन । उनीहरु अलग भैसकेका छन् । अमेरिका बस्दै आएका प्रशन्नले अहिले सर्लाही निवासी सृष्टि खतिवडासँग बिबाह गरी बसेका छन् ।

पवन मैनाली
एक जमानाका खुंखार खलनायक पवन मैनालीले पनि दोस्रो बिबाह गरेका छन् । ५२ वर्षका मैनालीले दोलखाकी लक्ष्मी सिवाकोटीसँग दोस्रो बिबाह गरेका हुन् । दर्जनौ चलचित्रमा अभिनय गरेका पवनले ‘पिँजडा’ नामक चलचित्र निर्माणसमेत गरेका छन्, जुन चलचित्र अभिनेता निखिलको अभिनयमा डेब्यु गरिएको थियो ।

अनुप बराल
अभिनयका गुरु भनेर चिनिने कलाकार अनुप बरालको पनि दिया मास्केसँग दोस्रो घरजम हो । ७ वर्षसम्म प्रेममा रहेर निर्देशक अनुपले दियालाई २०७१ मा घर भित्र्याएका थिए । अनुपको दियासँग दोस्रो बिबाह भए पनि दियाको भने पहिलो हो ।

मनोज गजुरेल
मनोज गजुरेल र मिना ढकालको डिभोर्स भएको पनि धेरै भएको छैन । २२ वर्षे लामो वैवाहिक सम्बन्धलाई टुंग्याउँदै हालै उनीहरु छुट्टाछुट्टै बस्दै आएका छन् । उनीहरुबाट एक छोरा र एक छोरी छन् ।

यी त उदारण मात्र हुन् । खोतल्दै जाने हो भने दोस्रो बिबाह गर्ने धेरै कलाकार भेट्न सकिन्छ । तर यस्ता कलाकारको कथा भने बेग्लाबेग्लै रहेको छ । केही कलाकारले बाध्यताले दोस्रो बिबाह गरेका छन् भने केहीले धोखा पाएर दोस्रो बिबाह रोज्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्