प्रदेश २ मा किसान परिचयपत्रको व्यवस्था गरिने



जनकपुरधाम : प्रदेश २ सरकारले किसानको जीवन र वृत्तिलाई सहज बनाउन किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । प्रदेशको कृषि संस्कृतिलाई व्यवस्थित तथा वैज्ञानिक तरिकाले प्रवर्द्धन गर्दै कृषकहरूको जीवनस्तर उकास्ने उद्देश्यले परिचयपत्रको व्यवस्था गरिन लागेको प्रदेश २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले बताए । 

राष्ट्रिय कृषक समूह महासंघ नेपालको प्रथम प्रदेश अधिवेशनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्दै मन्त्री साहले सो जानकारी दिएका हुन् । ‘कृषक परिचयपत्रको व्यवस्थाले उत्पादन तथा उत्पादकत्व वृद्धि योजना निर्माण तथा बजार व्यवस्थापनमा मद्दत पुग्नेछ,’ मन्त्री साहले भने । 

उनले कृषिक्षेत्रको समग्र विकास योजना निर्माणका लागि सही तथ्यांकको आवश्यकता रहेको भन्दै परिचयपत्रका माध्यमले प्रदेश सरकारसँग यस क्षेत्रसँग सम्बन्धित अत्यावश्यक र पर्याप्त सूचना संकलित हुने विश्वाससमेत व्यक्त गरे । 

‘प्रदेश २ को विकासका लागि कृषिक्षेत्रमा तीव्र परिवर्तन ल्याउनु जरुरी छ । यसले प्रदेशका जनताको कृषिजन्य उत्पादनमा परनिर्भरता घटाएर आयात प्रतिस्थापन गर्नेछ,’ मन्त्री साहले भने, ‘कृषिजन्य सामग्रीमा घरेलु आवश्यकताको सहज परिपूर्ति र निर्यातको स्थितिमा पुग्न प्रदेश सरकार सबैखाले प्रयत्नलाई एकीकृत रूपमा अघि बढाइरहेको छ ।’

‘किसानले परिचयपत्रका आधारमा सहुलियतदरमा ऋण सहयोग, अनुदान प्रदान गर्नुका साथै खादबीज, विषादी र कृषि उपकरण खरिद आदिमा सरकारद्वारा प्रदान गरिने सुविधा प्राप्त गर्नेछन्,’ मन्त्री साहले प्रस्ट्याए ।

प्रतिक्रिया दिनुहोस्