समाजवादीको बैठक कात्तिक अन्तिम साता : सरकार छाड्ने–नछाड्ने टुंगो लाग्ने



काठमाडौं : समाजवादी पार्टी नेपालले सरकारमा रहने–नरहने निर्णय आउँदो बैठकमा गर्ने भएको छ । आगामी संघीय परिषद् र केन्द्रीय समिति बैठकमा सरकारमा सहभागिताबारे एजेन्डा पेस हुने पार्टी महासचिव गंगानारायण श्रेष्ठले बताए ।

तत्कालीन फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुँदा संविधान संशोधन नभए सरकार छाड्ने सहमति भएको थियो । तत्कालीन फोरमले सरकारसँग गरेको दुईबुँदे सम्झौतामा संविधान संशोधनको विषय पनि रहेको छ । समाजवादी पार्टी गठन भएयता औपचारिक रूपमा पहिलोपटक सरकार छाड्ने विषय बैठकको एजेन्डा बन्न लागेको हो ।

समाजवादीले २८ र २९ कात्तिकमा संघीय परिषद् बैठक र ३० गते केन्द्रीय समिति बैठक डाकेको छ । ‘त्यही बैठकबाट सरकारमा रहने वा नरहनेबारे महत्वपूर्ण निर्णय हुन्छ,’ महासचिव श्रेष्ठले भने, ‘हामीले राजपासँग एकताका लागि घनिभूत छलफल गरिराखेका छौँ । एकता तत्काल टुंगो लाग्यो भने बैठकअघि नै सरकार छाड्ने पनि हुन सक्छ ।’

राजपासँगको एकताबारेमा तत्काल टुंगो लाग्न नसकेमा संघीय परिषद् र केन्द्रीय समिति निर्णयबाट सरकारबाट बाहिरिने निर्णय लिन सक्ने श्रेष्ठको भनाइ छ । सरकारमा बस्दा नबस्दाको औचित्यबारे छलफल गर्ने एजेन्डा तय भएको उनले बताए । ‘हामीले सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउँछौँ भनेर धेरै पर्खियौँ,’ श्रेष्ठले भने, ‘तर, सरकार संविधान संशोधन गर्ने संकेत देखाएको छैन । यस्तो अवस्थामा सरकारमा बस्नुको औचित्य छैन ।’

तत्कालीन फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुँदा संविधान संशोधन हुने स्थिति नभए सरकारबाट बाहिरिने सहमति थियो । सरकारबाट बाहिरिनुपर्नेमा तत्कालीन नयाँ शक्तिसम्बद्ध नेता मुखर देखिएका छन् भने तत्कालीन फोरमसम्बद्ध नेता भने तत्कालै सरकार नछाड्ने पक्षमा देखिएका छन् । (नयाँपत्रिका दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्