गौर नरसंहार काण्ड : आलमविरुद्ध तीनवटा मुद्दा, आइतबारबाट थुनछेक बहस



रौतहट : कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमविरुद्ध प्रहरीले थप दुई कसुरमा रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गर्न लागेको हो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा सरुअठाका ओसी अख्तर र त्रिलोकप्रताप सिंह घाइते भएको र दुवैलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते कांग्रेस नेता एवं पूर्वमन्त्री आलम पक्राउ परेका हुन् । उनी प्रहरी हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यानै लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारेको छ ।

जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले आलममाथि कर्तव्य ज्यानका अलावा ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको मुद्दा चलाउन लागिएको बताए । ‘सबै कसुरउपर अनुसन्धान सकेर सजाय मागदाबीसहित सरकारी वकिलको कार्यालयमा मिसिल बुझाउन लागेका छौं,’ उनले भने, ‘विस्फोटमा परी मृत्यु भएका परिवारजन, घाइते, प्रत्यक्षदर्शीलगायतसँग सोधपुछ गर्ने काम सकिएको छ ।’

मुद्दाको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाइए पनि शनिबार बिदा हुने भएकाले आइतबारबाट थुनछेक बहस सुरु हुने जनाइएको छ ।

विस्फोटमा घाइते भई ज्यान जोगाउँदै भागेका सर्लाहीका सफीलाई प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो । प्रहरी स्रोतका अनुसार सफीले विस्फोटका बेला आफ्नो पेटमा गम्भीर चोट लागेको र आन्द्रा बाहिर निस्केको बताएका छन् । उनको पेटमा ठूलो चोटको दाग देखिन्छ । घटनापछि आफूलाई पनि मार्ने डरले भागेर सीमावर्ती भारतको मोतीहारी पुगेको उनले प्रहरीसमक्ष बताएका छन् ।

गाई–भैंसीको कारोबार गर्ने एक जना भारतीयले उपचार गर्न सघाएपछि सफीले मोतीहारीकै तैयब नर्सिङ होममा झन्डै ६ महिना उपचार गराएको जनाए । उनले घटनाका बेला थुप्रै घाइते भएको बताए पनि संख्या भने यकिन भनेका छैनन् ।

यता सांसद आलमले घटना नै नभएको दाबी गरेको र पोलिग्राफ टेस्ट गर्न पनि नमानेको प्रहरीले जनाएको छ । प्रहरी र सरकारी वकिलको कार्यालयमा दिएको बयानमा उनले विस्फोटको घटना नभएको बताएका छन् । साविकको राजपुर फरहदवा गाविस ४ ९हाल राजपुर नगरपालिका ४० मा ०६४ चैत २७ मा भएको अकल्पनीय घटनामा छोराहरू ओसी र त्रिलोकलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै अभिभावकहरू रुक्साना खातुन र श्रीनारायण सिंहलेआलम, उनका भाइ महताब आलमलगायत ५ जनाविरुद्ध छुट्टाछुट्टै किटानी जाहेरी दिएका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्