कांग्रेस महासमिति बैठक आज सकिँदै



काठमाडौं : हिजो ढिलो गरी शुरू भएको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम जारी छ । आज आइतबार केही जिल्ला सभापति र महासमिति सदस्यहरूले विधान प्रस्तावमाथि धारणा राखेपछि साँझ महासमिति बैठक समापन गर्ने तयारी भइरहेको छ ।

केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएर आएको विधान प्रस्तावमाथि जिल्ला सभापति र महासमिति सदस्यहरूले केही बुँदामा असहमति राखे पनि विधानमा तलमाथि केही नगर्ने सभापति शेरबहादुर देउवाले स्पष्ट पारेका छन् ।  

शनिबार महासमिति बैठक शुरू हुनुपूर्व कांग्रेस जिल्ला सभापतिसहित वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतसँग भएको छलफलमा सभापति देउवाले केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएको विधानको कुनै पनि बुँदा परिवर्तन नगर्ने स्पष्ट पारेका हुन् । 

मुख्य गरी केन्द्रीय सदस्यहरू स्वतः महासमिति सदस्य हुने, जिल्ला सभापतिहरू स्वतः क्षेत्रीय प्रतिनिधि हुने विषयका साथै स्थानीय तहको उम्मेदवार छनोट जिल्ला संसदीय समिति प्रदेश तहको उम्मेदवारको छनोट प्रदेश संसदीय समिति र संघीय तहको उम्मेदवारको छनोट केन्द्रीय संसदीय समितिले गर्नुपर्ने विषयमा मतभिन्नता रहेको थियो । 

साथै आरक्षण र समानुपातिक कोटामा एक पटकभन्दा बढी अवसर नदिने विषय पनि सो छलफलमा उठेको थियो । लामो रस्साकस्सीपछि शीर्ष नेताहरूको जुँगाको लडाइँ अन्त्य गर्दै विधान संशोधन प्रस्ताव शनिबारको महासमिति बैठकमा पेस भएको हो । 

विधान संशोधन प्रस्तावमाथि शनिबार २६ जना जिल्ला सभापतिहरूले धारणा राखेका छन् । आज महासमितिमा दिनभर छलफल गराई बेलुकी विधान संशोधन प्रस्ताव पारित गरिन लागेको कांग्रेस नेता रामहरि खतिवडाले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्