सैनिक सहयाेगमा दलित बस्तीमा शाैचालय 



जनकपुरधाम : जनकपुर उपमहानगरपालिका वडा नं. ७ दलित बस्तीमा शौचालय बनेपछि स्थानीय खुसी भएका छन् । नेपाली सेनाको सहयोग र वडा कार्यालयको सहकार्यमा तीनकोठे शौचालय बनाइएको हो । 

शौचालयको आइतबार उद्घाटन गरिएको छ । नेपाली सेना गोरखनाथ गणका गणपति भोला पाण्डेले वडाध्यक्ष जानकीराम साहलाई शौचालयका साँचो हस्तान्तरण गरे ।शौचालय निर्माण गर्न २ लाख ३० हजार रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा गणपति पाण्डेले नेपाली सेनाले क्षीरेस्वर, मिथिला र नगराइन नगरपालिकामा समेत शौचालय निर्माण र खानेपानीको  काम गर्दै आएको बताए । ‘बाढीका बेला यो बस्तीमा आउँदा शौचालयको अभाव महसुस भएपछि वडा कार्यालयको सहकार्य र जनकपुर उपमहानगरपालिकाको सहयोगमा हामीले असारमा काम सुरु गरेका थियौं’, पाण्डेले भने ।

 

झन्डै पाँच धुर क्षेत्रफलमा शौचालय निर्माण गरिएको छ । सेनाको मध्यपूर्वी प्रितनाको आर्थिक सहयोगमा गोरखनाथ गणका सैनिकले शौचालय निर्माण गरेका हुन् ।

 

शौचालयको अभावमा मुसहरीटोलको बालबालिकादेखि बुढापाका र महिलासमेत खुला स्थानमा शौच गर्न बाध्य भएको तर अब यो समस्या हटेको वडाध्यक्ष जानकीराम साहले बताए । ‘हाम्रो वार्डको सबैभन्दा पिछडिएको टोल हो यो, त्यसैले दलितको यो बस्तीमा नेपाली सेनाको सह्योगमा हामीले यो शौचालय निर्माण गरेका हौं ।’ 

उनले सोही स्थानमा धर्मशाला बनाउन पनि बजेट परेको जानकारी दिए । शौचालय निर्माण भएपछि दलित बस्तीका झन्डै पाँच सय परिवार लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्