राजनीतिक अखडा बन्दै सुदूरपश्चिम विश्वविद्यालय 



कैलाली : सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख डा. भूपेन्द्र विष्टले मापदण्डविपरीत कर्मचारी नियुक्त गरेको भन्दै प्राध्यापकहरूले आइतबार एक दिनका लागि पेनडाउन गरे ।

 

कर्मचारी नियुक्ति खारेजी विषयमा नागरिक समाज र विद्यार्थीले उठाएको मागलाई आफूहरूको समेत सर्मथन रहेको भन्ने सन्देश प्रवाहित गर्न एक दिनका लागि पेनडाउन गरिएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापक यज्ञराज पाठकले बताए । उनले क्याम्पस प्रमुखले सामान्य मापदण्ड पूरा नगरी कर्मचारी भर्ना गरेकाले यस्ता निर्णय बदर गर्नुपर्ने माग राखे । 

क्याम्पस प्रमुखले कर्मचारी भर्ना गर्दा कति कर्मचारी आवश्यक छन् भन्ने जानकारी नगराएरै भर्ना गरेको, कर्मचारी भर्ना गर्दा पनि विज्ञापन नगरेको, लिखित तथा मौखिक परीक्षा नलिएको तथा भर्ना गरिएका कर्मचारीसमेत सम्बन्धित विषयका नभएको प्राध्यापकहरूको आरोप छ ।

आफूहरूको माग सम्बोधन नभए अझै सशक्त तरिकाले आन्दोलन अगाडि बढाउने उनीहरूले चेतावनी दिएका छन् । 

क्याम्पस प्रमुख विष्टले भने आफूले प्रक्रियागत रूपमै कर्मचारी भर्ना गरेको बताए । उनले विगतमा भइरहेको प्रक्रियाअनुसार आफूले पनि आवश्यकताअनुसार कर्मचारी भर्ना गरेको बताए ।

 ‘गएका वर्षमा पनि क्याम्पसलाई आवश्यक परेका बेला आफंै कर्मचारी राख्न पाउने व्यवस्था थियो,’ क्याम्पस प्रमुख विष्टले भने, ‘मैले पनि त्यही व्यवस्थाअनुसार कार्यादेश दिएको हुँ ।’

कर्मचारी भर्नाका विषयमा भइरहेको आन्दोलनको औचित्य नभएको क्याम्पस प्रमुख विष्टको भनाइ छ । उनले आन्दोलनका नाममा केही व्यक्तिले आफन्त राख्न दबाब दिइरहेको आरोप लगाए ।

प्राध्यापकले आन्दोलन गर्नुको त अझै अर्थ नभएको उनको भनाइ छ । ‘हिजो आफू जुन प्रक्रियाबाट आएका हुन् आज तिनै प्रक्रिया नमिलेको भन्दै आन्दोलनमा लागेका छन्,’ उनले भने ‘प्रक्रिया नै गलत हो भने पहिले आफूले राजीनामा दिएर यो प्रक्रियालाई खारेज गर्नुपर्छ ।’


विभागीय प्रमुखको संयुक्त राजीनामा

 

आफूहरूलाई कुनै काम नदिएको र भएको अधिकार पनि कटौती गरेको भन्दै सम्पूर्ण विभागीय प्रमुखले संयुक्त रूपमा राजीनामा दिएका छन् ।

आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि बजेट विनियोजन नभएको र काम गर्न कुनै अधिकार नै नभएकाले ६ वटै विभागका प्रमुखले संयुक्त राजीनामा दिएको व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम खातीले बताए ।

उनका अनुसार विभागीय प्रमुखलाई परीक्षाको तालिका निकाल्ने, परीक्षा लिने, अनुपस्थित प्राध्यापकलाई बोलाएर कक्षा सञ्चालन गराउन लगाउने मात्रै कार्यअधिकार दिइएको छ ।

‘गत वर्षमा विभागीय प्रमुखलाई आर्थिक र प्रशासनिक अधिकार थियो’, उनले भने ‘विद्यार्थीले आफ्ना सबै समस्या विभागीय प्रमुखलाई भन्ने हो । तर अहिले त्यो अधिकार सबै कटौती भएको छ ।’ 


पठनपाठन ठप्प

कर्मचारी नियुक्ति विषयमा चार विद्यार्थी संगठनले आइतबारबाट आन्दोलन जारी राख्दा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको पढाइ प्रभावित भएको छ । 

विद्यार्थी तथा प्राध्यापकको छुट्टाछुट्टै आन्दोलनका कारण अध्ययनका लागि टाढाटाढाबाट आएका विद्यार्थी मर्कामा परेका छन् । उनीहरूले क्याम्पस प्रशासनले आन्दोलनरत पक्षलाई वार्तामा ल्याएर निकास खोज्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्