कति कमाउछन् नेपाली हिरोइनहरु ?



काठमाडौं : कहिलेकाही नेपाली चलचित्र क्षेत्रमा नायिकाहरुको पारिश्रकिले सामाजिक सञ्जाल तातिरहेको हुन्छ । पारिश्रमिक माग्नु कलाकारको हक हो । तर, मागेजति पारिश्रमिक दिनु वा नदिनु निर्माताको निर्णयमा भर पर्दछ । पारिश्रमिकको सवालमा नेपाली फिल्म क्षेत्रमा पुरुष कलाकारको दाँजोमा महिला कलाकारलाई कमै दिइन्छ । महिलालाई पारिश्रमिकमा मात्रै नभई भूमिकामा पनि सशक्तरुपमा बिरलै देखाइन्छ । पछिल्लो समय नायकहरुलाई ५० लाख रूपैयाँसम्म पारिश्रमिक दिन थालिँदा नायिकाहरुले बल्लतल्ल २० लाखसम्म पुर्याउन सकेको देखिन्छ ।

जे जस्तै भएपनि कलाकारले काम पाइरहेका छन् । काम गरे बापत पारिश्रमिक पनि । तर, पछिल्लो समय ‘टेक्नोलोजी’को विकाससँगै नायिकाहरुले सामाजिक सञ्जालबाट पनि थप आयआर्जन गर्न थालेका छन् । यो कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । नायक, नायिकामात्र होइन्, सोसल साइटमा राम्रो फलोअलर हुने सर्वसाधारणले समेत घर बसीबसी पैसा कमाउन सक्ने प्लेटफर्मको रूपमा विकसित भइरहेको छ, सामाजिक सञ्जाल । यद्यपि, डिजिटल विज्ञापनमार्फत कलाकारले कति पारिश्रमिक पाउँछन् भन्ने कुरालाई सकेसम्म गोप्य नै राख्ने प्रयास गरिन्छ ।

घरमै बसीबसी पैसा कमाउने नायिकाहरु :-

स्वस्तिमा खड्का

अभिनेत्री स्वस्तिमा खड्काको भेरिफाइड इन्स्टा प्रोफाइललाई हालसम्म ७ लाख ८ हजारभन्दा बढीले फलो गरेका छन् । विभिन्न नेपाली चलचित्रमा विविध प्रकारका भूमिका निर्वाह गरेर दर्शकको मन जितिरहेकी अभिनेत्री खड्काले लामो समयदेखि आफ्नो इन्स्टाग्राममार्फत पनि राम्रो आम्दानी गरिरहेकी छन् । अभिनेत्री खड्काले आफू आबद्ध व्यवसायिक उत्पादनलाई इन्स्टाग्राममा पोस्ट गरेबापत लाखौ रुपैयाँ पारिश्रमिक पाइरहेकी छन् । सुन्दा तपाईलाई धेरै विश्वास नलाग्न पनि सक्छ । अभिनेत्री खड्काले इन्स्टाग्रामको आफ्नो परिचय (बायो) मै आफूलाई सानिमा लाइफ, ओप्पो नेपाल, बोता मस्म, पल्सोनिक नेपाल, टिभिएस् तथा डिसहोमको ‘ब्रान्ड एम्बेसडर’ भएको उल्लेख गरेकी छन् । यी सबै उत्पादनले उनलाई ब्रान्ड एम्बेसडर भएबापत राम्रो पारिश्रमिक दिएका छन् भने त्यसबापत स्वस्तिमाले आफ्नो इन्स्टाग्राममा ती उत्पादनका प्रचार सामग्री पोस्ट गरिरहेकी हुन्छिन् ।

प्रियंका कार्की

अभिनेत्री कार्कीलाई इन्स्टाग्राममा ८ लाख ७८ हजारभन्दा बढीले फलो गरिरहेका छन् । प्रियंका फलोअर्सका दृष्टिकोणले स्वस्तिमाभन्दा अगाडि छन् । यद्यपि डिजिटल एडको प्रसंगमा भने उनी स्वस्तिमाभन्दा पछाडि छन् । प्रियंकाले पनि कोकोकोलाको जिग्री विभिन्न उत्पादनसहित होटल तथा रिसोर्टका प्रचारात्मक सामग्रीसमेत फेसबुकको भेरिफाइड पेज तथा इन्स्टाग्राममा अपलोड गरिरहेकी हुन्छिन् । त्यो बापत उनले पैसा पाउँछिन् । चलचित्र क्षेत्रमा उनले आफ्नो पारिश्रमिक खासै बढाउँदिनन् । उनी बिनाकाम हात खाली बस्नुभन्दा सानै भूमिका भए पनि फिल्ममा अनुबन्ध भइदिन्छिन् । न ठूलो माग, न महत्वपूर्ण भूमिका । प्रियंकाको यही विशेषता र सहजताले गर्दा चल्तीकी हिरोइन बनिरहेकी छन् । उनले एउटै फिल्मबाट ठूलो पारिश्रमिक माग नगरे पनि धेरै फिल्म खेलेर बढी कमाउनेको सूचीमा भने पर्छिन् ।

केकी अधिकारी

अभिनेत्री केकी अधिकारीलाई इन्स्टाग्राममा ४ लाख ३९ हजारभन्दा बढीले फलो गरेका छन् । स्वस्तिमा र प्रियंकापछि केकी पनि विभिन्न प्रचारात्मक सामग्री आफ्नो इन्स्टाग्राम तथा भेरिफाइड फेसबुक पेजबाट अपलोड गरिरहन्छिन् । एन्आईसी एसिया बैंककी ब्रान्ड एम्बेसडर केकीले बैंकका टिभिसीहरू, बाथवेयर प्रोडक्ट, विस्पर अल्ट्राजस्ता उत्पादनको प्रवद्र्धन गरिरहेकी हुन्छिन् ।

सन्ध्या केसी

अभिनेत्री तथा भिडियो जक्की सन्ध्या केसीलाई इन्स्टाग्राममा २ लाख ८६ हजारभन्दा बढीले फलो गरेका छन् । उनले पनि इन्स्टाग्राममा विभिन्न व्यवसायिक उत्पादनहरूको बजार प्रवद्र्धन गरिरहेकी हुन्छिन् । त्यस क्रममा उनले वल्र्डलिङ्क, लेक्मे, दराज अनलाइन सप, भिभो मोबाइल आदिका प्रचारात्मक पोस्टहरू इन्स्टाग्राममार्फत् अपलोड गरिसकेकी छन् । एक अनौपचारिक जानकारीअनुसार सन्ध्याले इन्स्टाग्रामका पोस्टहरूबाट राम्रै पारिश्रमिक लिने गरेकी छन् ।

आँचल शर्मा

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र ‘नाई नभन्नु ल–४’ बाट गरेकी हुन् । पहिलो चलचित्रको सफलतापछि उनले ‘शत्रु गते’ र ‘जोनी जेन्टलम्यान’ नामक चलचित्रमा समेत भूमिका निर्वाह गरिसकेकी छन् । शर्मालाई इन्स्टाग्राममा २ लाख ८७ हजारभन्दा बढिले फलो गरेका छन् । नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आफ्नो भूमिकालाई स्मरणीय बनाउन सफल उनी पछिल्लो समय पारिश्रमिक बढि लिने नायिकामा पर्छिन् । आफ्नो पारिश्रमिक त छदैँछ त्यसबाहेक उनले इन्स्टाग्राममा पनि विभिन्न व्यावसायिक उत्पादनहरूको प्रचारप्रसार गरिरहेकी हुन्छिन् । त्यस बापत पनि राम्रै कमाइ गरिरहेकी छन् ।

वर्षा राउत

वर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन् । उनले ‘नाई नभन्नू ल–४’ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन् । चलचित्र यात्रा म्युजिक भिडियोबाट अभिनय सुरु गरेकी वर्षाको इन्स्टाग्राममा ४ लाख ५८ हजार फलोअर्स छन् । उनले पनि इन्स्टाग्राममा विभिन्न व्यवसायिक उत्पादनहरूको प्रचारप्रसार गरिरहेकी हुन्छिन् । त्यस बापत उनको हातमा राम्रै कमाइ परिरहेको छ ।

पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा

सन् २०१८ को ‘मिस वल्र्ड’ को उपाधी प्रतिस्पर्धी श्रृङ्खला खतिवडालाई नचिन्ने सायदै कम होलान् । मिस वल्र्ड–२०१८ को प्रतिस्पर्धामा उनले नेपाली प्रतिस्पर्धीले गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी गरिन् । उनले सबैको मन जित्न पनि सफल भइन् । खतिवडालाई इन्स्टाग्राममा ६ लाख ७६ हजारभन्दा बढिले फलो गरेका छन् । उनले पनि इन्स्टाग्राममा विभिन्न व्यवसायिक उत्पादनहरूको प्रचार प्रसार गरिरहेकी हुन्छिन् । अरुको तुलनामा विज्ञापनमा कमै खेले पनि त्यस बापत राम्रै आम्दानी गरिरहेकी छन् ।

रेश्मा घिमिरे

विराटनगरकी चर्चित रेश्मा घिमिरे मोडल र नायिका दुवै होइनन् । उनले एउटा फिल्ममा अभिनय गर्नुका साथै धेरै म्युजिक भिडियोसमेत दर्शकमाझ ल्याइसकेकी छन् । पेसाले नर्स रेश्माको इन्स्टाग्राममा फलो गर्ने चलेका नायिकाभन्दा बढि छन् । उनलाई अहिले १८ लाख ३ हजारभन्दा बढिले फलो गरेका छन् । रेश्मा अहिले विभिन्न म्युजिक भिडियोदेखि व्यवसायिक उत्पादनका विज्ञापनहरूमा समेत सक्रिय छिन् । त्यस बापत उनले राम्रै पारिश्रमिक पाइरहेकी छन् ।

स्वस्तिमा, प्रियंका, केकी लगायत नायिकाहरु सामाजिक सञ्जालमार्फत् विभिन्न उत्पादनको बजार प्रवद्र्धन गर्ने कार्यलाई ‘साइड जब’ बनाउने प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो केही वर्षयता फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक् आदिले सेलिब्रेटीदेखि सर्वसाधारणलाई आकर्षित गरिरहेका बेला उनीहरुलाई आफ्ना उत्पादनको प्रचार गराउने माध्यम बनाउन थालेका छन् । सेलिब्रेटीहरूले त्यस्ता उत्पादनको प्रवद्र्धन गरेर लाखौं रुपैयाँ पारिश्रमिकस्वरूप पाउन थालेपछि यो विश्वव्यापी ट्रेन्डले नेपाली बजारमा समेत राम्रो स्थान बनाउन थालेको छ । हलिउड तथा बलिउड ट्रेन्डमा रहेको डिजिटल विज्ञापनको बजारले अहिले नेपालमा समेत लोकप्रियता पाएको छ ।

यद्यपि डिजिटल विज्ञापनको प्रचलन लोकप्रिय महिला कलाकार तथा मोडलहरूका लागि मात्र होइन, सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम तथा टिकटक) मा राम्रो फलोअर भएका सर्वसाधारणका लागि समेत रोजगारीको राम्रो माध्यम बनिरहेको छ ।

सेलिब्रेटीमार्फत् पोस्ट गर्दा एउटै पोस्ट छोटो समयमा लाखौं व्यक्तिसम्म पुग्ने, तुरुन्त प्रतिक्रिया आउने तथा त्यसले सर्वसाधारणलाई छिट्टै प्रभाव पार्ने भएकाले डिजिटल विज्ञापनको क्रेज बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्