मंसिर पहिलो हप्ता स्वास्थ्यमन्त्री उपेन्द्रले राजीनामा दिने !



काठमाडौं : सरकारमै बसेर सरकारकै विरोध गर्दै आएको समाजवादी पार्टी भित्र सरकार छाड्ने दवाव बलियो बन्दै गएको छ । राजपा नेपालसँग पार्टी एकीकरणको प्रक्रियामा रहेको समाजवादी पार्टीलाई राजपाले सरकारबाट बाहिरबाट पूर्व शर्त राखिरहेको बेला प्रदेश प्रमुखको बर्खास्तगी र नियुक्ति प्रकरणले सरकारबाट बाहिरिने कुरालाई मद्दत पुर्याएको छ ।

प्रदेश प्रमुखहरुको बर्खास्तगी र नियुक्ति प्रकरणमा सत्तारुढ समाजवादी पार्टीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सल्लाह नगरेको भन्दै समाजवादी पार्टीले आपत्ति जनाएको छ । समाजवादी पार्टीका नेताहरुले निर्णय भएपछिमात्र यस सम्बन्धी जानकारी पाएका थिए ।

त्यसअघि उनीहरु सत्तारुढ दलकै नेता भएपनि बेखबर जस्तै थिए । यस प्रकरणमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै सरकारको कडा आलोचना गरेका छन् । आन्दोलनको लागि तयार हुनुपर्ने भन्दै गरिएको ट्वीटमा भट्टराईले भनेका छन्–‘वर्तमान सरकारको एकमनावादी, एकात्मक र निरंकुश चरित्रको पुनःपुष्टि भएको छ ।’

पार्टीलाई सरकारबाट फिर्ता हुन दवाव दिँदै आएका भट्टराईलाई पछिल्लो प्रकरणले बल पुगेको जानकारहरुको भनाइ छ । यो प्रकरणले पार्टी भित्र पार्टी अध्यक्ष एवं उपप्रधानम तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न तीव्र दवाव परेको छ । पार्टी महासचिव गंगानारायण श्रेष्ठले सत्तारुढ दल भएपनि आफूहरुसँग कुनै सरसल्लाह नगरेकोमा असन्तुष्टि व्यक्ति गरेका छन् । महासचिव श्रेष्ठले सरकारमा बस्ने कि छाड्ने भन्ने विषयमा पछिल्लो प्रकरणले पेचिलो बन्दै गएको बताउँछन् ।

श्रेष्ठले पार्टीको यही २८ गते बस्ने संघीय परिषद र २९–३० मा बस्ने केन्द्रीय समितिको बैठकले औपचारिक निर्णय गरेर सरकारबाट बाहिरिने संकेत गरेका छन् ।

त्यस्तै अर्का पार्टी महासचिव रामसहाय यादवले पनि सरकारले आफ्ना कुराहरु नमानेको, सरकार जाने बेलामा समाजवादी पार्टीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको र संविधान संशोधनमा कुनै चासो नदेखाएकोले अब सरकारमा बसिरहनुको औचित्य नभएको बताए ।

महासचिव यादवले सरकार बसिरहनुको औचित्य समाप्त भएको बताउँदै यस सम्बन्धी निर्णय आगामी बस्ने पार्टीको बैठकले तय गर्ने जानकारी दिए ।

समाजवादी पार्टीका नेताहरुको अभिव्यक्तिले आउँदो २८ देखि ३० गतेसम्म तय गरिएको समाजवादी पार्टीको संघीय परिषद र केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने देखाउँछ । यसो भएमा पार्टीले निर्णय गरेपछि आउँदो मंसिरको पहिलो हप्तामा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र सहरी विकास मन्त्री इस्तियाक राईले राजीनामा दिनुपर्ने परिस्थिति निर्माण हुने छ ।

त्यसोत मन्त्री यादवले पटक–पटक सरकार छाड्ने घुर्की पनि दिँदै आएका छन् । मन्त्री यादव निकटका अनुसार पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले आफूहरुलाई वास्ता गर्न छोडेको बताउदै सरकारमा बसिरहन असजिलो भइरहेको गुनासो पनि यादवले गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरुमा समारजादी पार्टी र यादवहरुलाई त्यति सारो महत्व दिन छाडेका छन् । यसको पछिल्लो उदाहरण हो– प्रदेश प्रमुखहरुको बर्खास्तगी र नियुक्ति प्रकरण ।

यस प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री परिषदको बैठकमा बाहेक यादवलाई कुनै सुइको समेत दिएनन् । त्यस्तै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा मन्त्री यादवले आफ्नो सल्लाहकार केके राईलाई प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री ओलीले डा. भगवान कोइरालाको प्रस्ताव ल्याउन निदेशन दिएपछि डा. कोइराला नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्