नेपाल आइडल रविलाई सुदूरपश्चिम सरकारकाे भव्य स्वागत



कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले नेपाल आइडल सिजन २ का विजेता रवि वडलाई सोमबार धनगढीमा भव्य स्वागत गरेको छ । नेपाल आइडलको उपाधि जितेपछि रवि पहिलोपटक गृहप्रदेश आएका हुन् । 

बधाई तथा सम्मान कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले झुपडीको प्रतिभा बाहिर ल्याउन सफलता प्राप्त भएको बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशका कुनाकाप्चामा यस्ता हजारौं प्रतिभा लुकेर रहेको बताए । 

रविले नेपाल आइडल जित्नु समग्र सुदूरपश्चिमको ठूलो सफलता भएको बताउँदै उनले आगामी दिनमा यस्तै लुकेर रहेका झुपडीका प्रतिभाहरू बाहिर ल्याउन प्रदेश सरकारले सहयोग गर्ने जनाए । उनले रविलाई थप मिहिनेत र अनुशासित भएर अगाडि बढ्न समेत सुझाए । 

 

रविले सबै नेपालीको साथ र सहयोगले नेपाल आइडल बन्न सफल भएको बताए । उनले सुदूरपश्चिमको कलासंस्कृति जगेर्ना गर्न सधैं लागिपर्ने पनि बताए । रविले आफूलाई सहयोग गर्ने पूर्व मेचीदेखि पश्चिम महाकालीलगायत देशविदेशका सम्पूर्ण नेपालीलाई धन्यवाद दिए । 

बधाई कार्यक्रममा प्रदेशका सामाजिक मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिका मेयर नृप वडलगायतको उपस्थिति थियो । 

रवि साेमबार नै राजधानी फर्किने बताइएको छ । गत शुक्रबार सम्पन्न नेपाल आइडलको ‘ग्रान्ड फिनाले’मा अन्य तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै रवि नेपालको दोस्रो नेपाल आइडल बन्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्