नेपाल–भारत सीमामा तारबार ‘अकल्पनीय’



जनकपुरधाम : जनकपुरमा साेमबार आयोजित एक कार्यक्रमका वक्ताले नेपाल र भारतको सम्बन्ध थप सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपाल भारत सीमा तारबार  लगाउने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् ।

नेपाल भारत खुल्ला सीमा संवाद समूहले जनकपुरमा आयोजना गरेको विचार गोष्ठीमा सोमबार नेपाल र भारतको सीमावर्ती क्षेत्रका साहित्यकारले यस्तो विचार व्यक्त गरेका हुन् । 

कार्यक्रमममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मैथिली संस्कृति र भाषा साहित्यको प्रवर्द्धन गर्न सकेमात्र ‘हाम्रो मिथिला’ अवधारणाले मूर्तता पाउने बताए । 

साहले नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउन दुवै क्षेत्रका प्रत्येक व्यक्तिले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने सल्लाह दिए ।

भारतीय भाषाविद् बैद्यनाथ चौधरीले अवध र मिथिलाको सम्बन्ध प्राचीन कालदेखिको भएको र पौराणिक कालमा राम र सीताको विवाह भएको बताए । उनले भने, ‘रामायण र महाभारत कालमै बनेको नेपाल र भारतको सम्बन्ध कुनै सरकार र व्यक्तिले चाहँदैमा समाप्त हुने होइन ।’

नेपाल र भारतको सिमाना धेरैपछि कोरिए पनि व्यक्तिव्यक्तिबीच कुनै पनि सरकारले सिमाना कोर्न नसकेको उनको भनाइ थियो । उनले दुवै देशबीच मिथिलाको पुरानो सम्बन्ध परापूर्व कालदेखि रहिआएको र सदैव  रहने  बताए । 

भारतीय विद्वान् कृष्णकुमार मिश्रले त्रेताकालमा राम र सीताको विवाह भएको, त्यस्तै द्वापरकालमा विराट् राजाको इतिहास र वैवाहिक सम्बन्ध रहेका कारण अहिले आएर कसैले नेपाल–भारतको सम्बन्धमा चिसो पार्न खोजे त्यो गलत हुने बताए । नेपाल र भारतबीचको वैवाहिक सम्बन्ध कुनै पनि किसिकको व्याख्यामा नसमेटिने उनको भनाइ थियो ।

नेकपाका स्थानीय नेता शिवशंकर साहले नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्धमा कसैले पनि छेडछाड गर्न नमिल्ने बताए । पछिल्लो समय नेपाल र भारत सीमामा तारबार लगाउने समाचार आएपछि संवाद समूहले यस विषयमा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्