आलमको न्यायाधीशलाई जवाफ : ‘त्यस बेलाको मोबाइल नम्बर बिर्सें’



गौर : न्यायाधीश स् तपाईंको नामथर र वतन के हो ?
आलम : मेरो नाम मोहम्मद अफताब आलम हो। मेरो घर राजपुर हो।
न्यायाधीश : वारदात भएको मिति २०६४ चैत २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?
आलम : त्यस बेलाको मोबाइल नम्बर मलाई सम्झना छैन।
न्यायाधीश : तपाईंको जन्ममिति कति हो ? कति वर्षको हुनुभयो ?
आलम : म २०१९ सालमा जन्मेको हो। अहिले ५७ वर्षको भएँ।
न्यायाधीश : तपाईको स्थायी ठेगाना कहाँ हो ?
आलम : म राजपुर नगरपालिका ४ मा बस्छु।
न्यायाधीश : तपाईले कुन विद्यालय र कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ ?
आलम : मैले बीएससीसम्म अध्ययन गरेको छु।
न्यायाधीश :
तपाई के काम, पेसा, व्यवसाय गर्नुहुन्छ ?
आलम : मैले २०३६ सालदेखि राजनीति गरेको छु। मेरो अन्य पेसा–व्यवसाय छैन।
न्यायाधीश : तपाई र तपाईको अंशबण्डा नभएका परिवारका सदस्यका नाममा के कति चलअचल सम्पत्ति छ ?
आलम : मेरो १२ जनाको सगोलको परिवार छ। मेरो परिवारजनको समेत नाममा जोडेर २२ बिघाजति जग्गा छ। चल सम्पत्ति खासै छैन।
न्यायाधीश : तपाईंको स्वास्थ्य अवस्था के छ ? प्रहरी हिरासतमा कुनै किसिमको यातना दिएको छ कि छैन ?
आलम : मेरो स्वास्थ्य ठीक छ। म रक्तचापको बिरामी हुँ। प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन।
न्यायाधीश : तपाईंले कानुन व्यवसायी नियुक्त गर्नुभएको छ कि छैन ? छैन भने तपाईंले निःशुल्क रूपमा कानुनी सहायता पाउन सक्नुहुन्छ भन्ने जानकारी तपाईंलाई छ कि छैन ?
आलम : मैले आफ्नो कानुन व्यवसायी नियुक्त गरेको छु। उहाँहरूले नै मेरो पक्षमा मुद्दा लड्नुहुन्छ।

०००

हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब आलमसँग जिल्ला अदालतमा बुधबार पनि बयान लिइने भएको छ। न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार नेता आलमसँग बयान लिइएको हो। बयानका लागि बिहान साढे १० बजेतिर अदालत लगिएको थियो। तर, सवा ३ बजे मात्रै बयान सुरु भएको थियो।

आलमलाई साढे एक बजेतिर इजलासमा उपस्थित गराए पनि उनको पक्षमा रहेका कानुन व्यवसायीले केही समय बयान रोकेका थिए। आलमसँग मंगलबार नौ वटा प्रश्न सोधिएको छ। त्यसपछि कार्यालय समय सकिएकाले बयान रोकिएको हो।

आलम पक्षका कानुन व्यवसायीले मिसिलको फोटोकपी नपाएको भन्दै केहीबेर बयान रोकेका थिए। फोटोकपी वितरण भएपछि बयान थालिएको हो। बयान नसकिएकाले आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ।

आठ सयभन्दा बढी पृष्ठको मिसिल फोटो कपी गर्न समय लागेकाले वितरणमा ढिलाइ भएको सरकारी वकिल कार्यालयले जनाएको छ। आलमलाई ३२ वर्ष कैद माग गर्दै सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा २ वर्ष कैद माग गरेर मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा फणि महतले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्