नेकपा एक नम्बर प्रदेश संसदीय दलको बैठक स्थगित



मोरङ: प्रदेश एकको नाम र स्थायी राजधानीको बारेमा टुङ्ग्याउन बसेको एक नम्बर प्रदेश नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । 

 

सांसदहरुको बोल्ने क्रम सकिएपछि  ५ जना मन्त्रीसहित उपनेताले बोल्न बाँकी रहेकोले अर्को दिन दलको बैठक बोलाएर यो विषय टुङ्गोमा पुर्‍याइने भएको हो ।

 

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले  अनुपस्थित भएका बाहेक ५६ जना सांसदले आफ्नो धारणा राखेपछि आजको लागि बैठक स्थगित भएको बताउनुभयो ।

 

उहाँले अर्को कुनै दिन १८ वा १९ गते संसदीय दलको बैठक बोलाउने र त्यो बैठकमा मन्त्रीहरु सबैले र उपनेतासहित छुटेका सांसदले आफ्नो धारणा राखेपछि कसरी अगाडि बढ्ने भन्ने निक्र्यौल निकालिने  बताउनुभयो । 

 

एक नम्बर प्रदेशका  मुख्यमन्त्री शेरधन राईले कार्यपालिका र व्यवस्थापिका विकेन्द्रित गर्ने बताइरहँदा बैठकमा सहभागी दुई जना बाहेक सबै सांसदहरु विकेन्द्रीकरणको विपक्षमा देखिएका छन्  । उनीहरुले राजधानी जहाँ तोकिन्छ त्यहीँ नै कार्यपालिका र व्यवस्थापिका बनाउनु पर्ने बताए ।

मुख्यमन्त्री कार्यालयसहित मन्त्रालय विराटनगरमा राख्ने र प्रदेशसभा इटहरीलगायतका आसपासका क्षेत्रमा लैजाने गरी गृहकार्य गरेको भन्ने विषयलाई आधार बनाएर सांसदहरुले त्यस्तो धारणा ल्याएका हुन्  ।


नामको विषयमा पनि अन्यौल

एक नम्बर प्रदेशको  नाम र राजधानी टुङ्ग्याउने बारेमा २ दिनसम्म विराटनगरको फन एण्ड फूड रिसोर्टमा बसेको नेकपा संसदीय दलको बैठकमा पहिलो नम्बरमा सांसदले सगरमाथाको पक्षमा आफ्ना धारणा राखेका छन्  । त्यस्तै दोश्रो नम्बरमा सांसदले किराँत प्रदेश नाम राख्न भनेका छन् ।

 

त्यस्तै तेश्रो नम्बरमा किराँत–सगरमाथा वा सगरमाथा–किराँत प्रदेशको पक्षमा केही सांसद कोशी, लिम्बूवान किराँत प्रदेशको पक्षमा देखिएका छन्  । तर यसरी सांसदहरुबाट आएको सुझावलाई आधार मान्ने हो भने सगरमाथा वा किराँत प्रदेश नै एक नम्बर प्रदेशको नाम हुने देखिएको छ ।


राजधानीमा विवाद

नेकपाको संसदीय दलको बैठकमा नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरलाई बनाएर मन्त्रालय तथा संसद सभा भवन विकेन्द्रीकरण गर्ने विषय बाहिर आइरहेका बेला राजधानीको नाम इटहरी, विराटनगर, धरान र धनकुटाको पक्षमा सांदहरुले अघि सारेका छन्  ।

प्रतिक्रिया दिनुहोस्