वीरगन्जमा पहिलो पटक चलचित्रको स्वर्णिम महोत्सव शुरु



वीरगन्ज : ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ बिहीबारदेखि तीनदिने नेपाली चलचित्र महोत्सव वीरगञ्जमा शुरु हुँदैछ ।

आजदेखि शुरु हुने महोत्सवमा सहभागी हुन बलिउडका अभिनेता गोविन्दा अहुजा श्रीमती सुनिता अहुजासहित गत मंगलबार नेपाल आइपुगेका छन् ।

महोत्सवमा नेपाली चलचित्रका पुराना हस्ती शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंहदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खड्का, पल शाह, केकी अधिकारी, साम्राज्ञीराज्यलक्ष्मी शाहलगायत नेपाली चलचित्रसँग जोडिएका अन्य विधाका हस्तीको पनि सहभागिता हुने उपसंयोजक हरि पन्तले बताए ।

उपत्यका बाहिर पहिलो पटक वीरगन्जमा हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र भाषाको विकासमा टेवा पुग्नाका साथै गोविन्दासमेत सहभागी हुने भएकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले गरेका छन् ।

नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी ६ चलचित्र प्रदर्शन गरिने भएको छ ।

नेपाली भाषी चलचित्रले तराई–मधेशमा वर्चस्व कायम राख्न नसकेको अवस्थामा दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे प्रचारप्रसार समितिका संयोजक दिलीपराज कार्कीले बताए ।

स्थानीय प्रसाशनले महोत्सवमा सहभागी हुन आउने नेपाल तथा भारतका कलाकारको सुरक्षाको व्यवस्था गरेको छ । एक करोड २० लाख खर्च हुने अनुमान गरिएको यस महोत्सवका लागि प्रदेश २ सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख र प्रादेशिक पर्यटन प्रवद्र्धन समितिले समेत केही रकम उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्