यसरी गर्नुहोस् तुलसी विवाह



काठमाडौं : आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।

एकादशीको साँझ तुलसीको मठ(मैरी)लाई गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि मठको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र (चुनरी) ओढाउनु पर्छ । मठलाई साडीमा बेरेर तुलसीलाई चुरा लगाइदिएर श्रृंगार समेत गरिदिनु पर्छ ।

त्यसपछि भगवान गणेश आदि देवताहरुको तथा शालिग्रामको विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु पर्दछ ।

त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रुपमा राख्नु पर्छ र भगवान शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मोठलाई सात पटक परिक्रमना गराउनु पर्छ र आरती पश्चात विवाहोत्सव पूरा गर्नुपर्छ ।

तुलसी विवाहमा हिन्दू विवाह जस्तै गरी सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समय मंगल गीत पनि गाइन्छ । श्रीहरि विष्णुलाई एक पत्र तुलसी समर्पित गर्नाले बैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्