कलाकार मय वीरगन्ज (फोटोफिचर)



वीरगन्ज : ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ हिजो (बिहीबार)देखि वीरगन्जमा शुरु भएको नेपाली चलचित्र महोत्सवले वीरगन्ज कलाकार मय भएको छ ।

नेपाली चलचित्र निर्माता संघको आयोजनामा हिजोदेखि शुरु भएको नेपाली स्वर्णिम महोत्सवमा सहभागी हुन भारतीय सिने क्षेत्रका चर्चिक कलाकार गोविन्दा अहुजा गत मंगलबार नै नेपाल आइसकेको थिए ।

बिहीबार बिहान वीरगन्जको घण्टाघरबाट विभिन्न जातजाति र समुदायका भेषभुषाको झाँकीसहितको प्रभातफेरी निकालिएको थियो ।

प्रभातफेरीमा सहभागी हुन काठमाडौंबाट नेपाली चलचित्रका नायक, नायिका, दिर्नेशक, निर्माताका साथै स्थानीय कलाकारहरुको समेत उल्लेख्य सहभागी रहेको थियो ।

आदर्शनगर रंगशालामा आयोजित तीनदिन महोत्सवको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउनुपर्ने बताइन् ।

तीन दिनसम्म चल्ने महोत्सवमा ६ भन्दा बढी चलचित्र प्रदर्शन गरिने छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रलाई मनोरञ्जनका रुपमा मात्र नलिएर यसमा नयाँनयाँ सिर्जना गरी हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्नुपर्ने तथा चलचित्र क्षेत्रको विकासमा सरकार मात्र नभएर निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताए ।

त्यस्तै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय सिने स्टार गोविन्दाको नाम लिनेहरु कार्यक्रममा बढी देखिएको तर हाम्रै देशमा रहेका कलाकारलाई बिर्सिने गरेको बताउँदै निर्माताले चलचित्र बनाउँदा समाजले मागेको कथावस्तु दिन सक्नुपर्छ भने ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियालगायतले पनि बोलेका थिए । (फोटो फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्