अब कतार जाने नेपालीको स्वास्थ्य परीक्षण र करारपत्र हस्ताक्षर नेपालमै



काठमाडौं: कतार पुगेपछि हुने गरेको नेपाली कामदारको स्वास्थ्य परीक्षण र करारपत्रमा हस्ताक्षर अब काठमाडौंमै हुने भएको छ । कतार सरकारले काठमाडौंमा नै श्रम, गृह र स्वास्थ्य मन्त्रालयको संयन्त्र स्थापना गरेर यी सेवा दिन लागेको हो ।

 

यो व्यवस्थापछि नेपाली कामदारको करारपत्र अब उता पुगेर परिवर्तन हुने समस्या हट्नेछ । रोजगारदातासँगको सक्कली करारपत्र काठमाडौंमा पाउने व्यवस्थाको तयारी भइरहेको हो ।

 

कतारले आँउदो नोभेम्बरदेखि नै काठमाडौंमा भिसा सेन्टर खोल्दैछ । ‘यसका लागि दैनिक ३ सय कामदारलाई सेवा दिन मिल्ने गरी महाराजगञ्जमा घरसमेत लिइसकेको छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘यो सेन्टरले आफ्नो काम शुरु गरेपछि नेपाली कामदारको करारपत्र परिवर्तन हुँदैन ।’

 

संयन्त्र स्थापनाले सरकारले ६ बर्षअघि लागु गरेको न्युनतम तलव रोजगारदाता कम्पनी कार्यान्वयन गर्न बाध्यकारी हुनेछन् । सन् २०१३ मा नेपाल सरकारले तोकेको १२ सय रियाल दिन सबै रोजगारदातालाई बाध्यकारी थिएन । नेपालमा कामदारसँग एउटा करारपत्रमा हस्ताक्षर गर्ने तर कतार पुगेपछि अर्को थमाउने प्रवृत्ति अन्त्य हुने पनि कोइरालाले बताए । – कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्