फेसनजस्तै बन्याे ‘सम्बन्ध विच्छेद’, एकै दिन २९ ‘सम्बन्ध विच्छेद’



काठमाडौं : समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ ।

 

सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ पुर्‍याउँला ? सोचनीय विषय बन्दै गएको छ ।

 

कतिपय साँच्चै अन्याय सहन नसकेर सम्बन्ध विच्छेदसम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको नाममा सामान्य विषयमा पनि श्रीमान–श्रीमतीबीच समन्वय, सहकार्य समझदारी र आपसी विश्वास गर्न नसकेर विकृतिकै रूपमा सम्बन्ध विच्छेद अपनाइरहेका छन् ।

 

काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकै दिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए । ३० साउनमा २१ वटा, २९ मा १९ वटा सम्बन्ध विच्छेदका पेसी चढेको पाइएको छ । साउन महिनामा साढे २ सय मुद्दाको पेसी चढेको छ ।

 

पेसीका अलावा आपसी मिलेमतोमै सम्बन्ध विच्छेद गर्न अदालत पुग्नेको संख्यासमेत झनै डरलाग्दो छ । दिनमा दर्जनको संख्यामा सम्बन्ध विच्छेदका घटना काठमाडौं अदालतमा मात्र हुने गरेको अदालतले जनाएको छ । भदौमा भने सो संख्या केही घटे पनि असोजमा पुनः त्यो संख्यामा वृद्धि भएको पाइएको छ ।

 

काठमाडौं जिल्ला अदालतका अनुसार भदौमा सयको हाराहारीमा पेसी चढेकोमा १४–१९ असोजको पेसीमै ६६ वटा सम्बन्ध विच्छेदका मुद्दा चढेका छन् । – राजधानी दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस्