चलचित्रको स्वर्णिम महोत्सव : कालाका राष्ट्रिय विभूतीहरुलाई सम्मानित गर्दै सम्पन्न



वीरगन्ज : ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ गत बिहीबारदेखि वीरगन्जमा शुरु भएको नेपाली चलचित्र महोत्सव शनिबार सम्पन्न भएको छ ।

वीरगन्जको आदर्शनगर रंगशालामा आयोजित तीनदिन महोत्सव समापन कार्यक्रमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सासंद एवं समाजवादी पार्टीका नेता प्रदीप यादवले मेधश आन्दोलनमाथि चलचित्र बनाउन आह्वान गरेका छन् । उनले आधा जनसंख्या रहेको तराई –मधेसको भाषा, संस्कृति‐सभ्याता र इतिहासमाथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सिने जगतलाई अनुरोध गरेका छन् ।

उहाले ५० वर्षको इतिहासलाई तोड्दै पूरै चलचित्र जगत राजधानीको घेरा तोड्न सफल भएकोमा उनले नेपाल चलचित्र निर्माता संघलाई धन्यवाद व्यक्त गरे । सांसद यादवले छापा र इलेक्ट्रोनिक भन्दापनि चलचित्र मिडिया सयौँ गुणा शसक्त भएको बताउँदै मधेसको इतिहासमाथि चलचित्र बनाएर राष्ट्रियतालाई बलियो बनाउन अनुरोध गरे ।

मधेशको भूमी चलचित्र निर्माण र छायाँकनका लागि उत्कृष्ट रहेकाले उनले मधेस र विशेष गरी वीरगन्जमा नेपाली चलचित्रको छायाँकनका लागि नेपाली चलचित्र निर्माताहरुलाई आग्रह समेत गरे ।

यसैगरी वरिष्ठ कलाकार नीर शाहले समय परिवर्तनसँगै भोजपुरी, मैथिली, अवधि, नेवारी लगायतका भाषामा पनि चलचित्र निर्माण हुन सके मात्र फिल्म उद्योग सशक्त हुने बताए ।

नेपाली चलचित्रका पुराना र नयाँ कलाकारहरुको सम्मान तथा बुलबुल, आमा र शत्रुगते गरी ३ वटा चलचित्र प्रदर्शन गरि चलचित्र स्वर्णिम महोत्सव सम्पन्न भएको हो ।

समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज कलाकार ऋद्दीचरण श्रेष्ठ, वीरगन्ज घर भएकी नायिका नम्रता श्रेष्ठ, गायक एवं संगितकार प्रसाद श्रेष्ठ, भोजपुरी एवं नेपाली चलचित्रका नायक प्रदेशी साहलाई प्रमुख अतिथि सांसद प्रदीप यादव, विशिष्ट अतिथि वीरगन्ज महानगरका मेयर बिजय कुमार सरावगी, वरिष्ठ कलाकार नीर शाहले उनीहरुलाई सम्मानपत्र र खादासहित समान्न गरेका थिए ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, वीरगन्ज उद्योग वाणिज्यका पूर्व अध्यक्ष अशोक वैद्य, प्रदेश सभा सांसद ओमप्रकाश शर्मा लगायतकाले आयोजकले महोत्सवका लागि अर्थिक नगरी वीरगन्जलाई चयन गरेकोमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम वीरगन्ज ल्याए मधेसलाई राष्टिय मुलधारमा जोडन आआफ्नो क्षेत्रबाट सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्