चिनोको रुपमा खिचेको फोटो समाजलाई पचेन


सृजना सुब्बा नायिका

अहिले त रेस्टमा हुनुहुन्छ है ?
हो नि (हाँस्दै) ! अब डाक्टरले डेलिभरीका लागि दिएको डेट पनि नजिक आइसक्यो। रेस्ट टाइम नै भन्नु प-यो।

तपाईँले बिहे त गुपचुप गर्नुभयो नि ?
प्रायले त इन्गेजमेन्ट गर्छ, इन्गेजमेन्टमा एकखालको हल्ला गरिरहेको हुन्छ। अब ऊसँग म्यारिज गर्दैछु भनेर फेसबुकमा राखिरहेको हुन्छन्। मेरो त्यो भएन। वैशाखमा हाम्रो इन्गेजमेन्ट भा’को हो, हाम्रो मंसिरमा बिहे भयो। मागी विवाह भएको हो तर लभ–एरेन्ज म्यारिज भन्न सक्छौँ यसलाई। हामीले फियोन्सी भनेर कतै भनेनौँ। त्यही कारणले एकैचोटी बिहे गर्दा कतिलाई गुपचुप जस्तो लाग्यो। अर्को गुपचुपजस्तै हुनुको कारण चाहिँ काठमाडौंमा बिहे गर्ने कुरा थियो। उहाँकी आमा युके (बेलायत)मै हुनुहुन्थ्यो। उहाँ कान्छा छोरा भ’को भएर आमाले पर्खनु म आइञ्जेल भन्नु भएको थियो। अनि यहाँ पछि नै भनौंला भनेर उताकोलाई मात्र बोलाएका थियौं। अब एकैचोटी बिहेको फोटो झ्वाट्ट देखेपछि धेरैलाई गुपचुपझैँ लाग्यो। अब सबैलाई पास्नीमा बोलाउने।

यता काठमाडौंमा त हुन्न अब ?
अब नानी भएपछि त कसरी हुन्छ होला त !

पदम सुब्बा त डकुमेन्ट्री मेकर हुन् हैन ?
अँ, डकुमेन्ट्री आफैँ निर्देशन गर्नुहुन्छ। उहाँहरुको प्रोडक्सन कम्पनी छ। नवीन सुब्बा उहाँको जेठो दाइ हो। फिल्ममा लगानी गर्ने फिल्ममेकर पनि हो उहाँ। ‘नुमाफुङ’मा उहाँको लगानी थियो। अब ‘गुडबाई काठमाडौं’ आउन लागेको छ। ‘गुडबाई काठमाडौं’ त बनेको १० वर्ष जति नै भइसक्यो। त्यतिखेर हाम्रो लभ भर्खर भर्खर चल्दै थियो।

कसरी लभ परेको थियो ?
टिनएजर्सको जस्तै रातभरि निद्रा नलागेर भुतुक्कै भनेजस्तो नभएर हाम्रो कामकै सिलसिलामा भेट हुन्थ्यो (मुसुस्क्क हाँस्दै)। उहाँहरुको आएफआई (इन्डिजिनस फिल्म आर्काइभ) भन्ने संस्था थियो। उहाँहरुले अन्तर्राष्ट्रिय जनजाति फिल्म फेस्टिभल नेपालमा पहिलो पटक गर्नु भएको थियो। अनि त्यही सिलसिलामा भेट भयो। त्यसपछि जनजाति महिलालाई डकुमेन्ट्री फिल्म मेकिङ ट्रेनिङ पनि दिनु भा’थियो। यसरी कामकै सिलसिलामा हामी नजिक हुँदै गा’को हो। आठ वर्ष अफेयर चल्यो भनौँ न !

आठ वर्षको सम्बन्धमा ब्रेकअप भएन कहिल्यै ?
अँ, बीचबीचमा त ब्रेकअप भइहाल्छ नि ! त्यस्तै २/४ दिन त (हाँस्दै)।

अनि अहिले तपाईको प्रेगेन्सीको फोटो सुट खुब चलेको छ। कसरी आयो यस्तो आइडिया ?
विदेशतिर यस्तो बेलामा तस्बिर खिचेको देखेकी थिएँ। मलाई पनि त्यस्तो फोटो खिच्ने रहर थियो। त्यस्ता फोटोहरु इन्टरनेटमा देखेँ भने सेभ गरेर राख्थे। आफू गर्भवती भएपछि रहर पूरा गर्न फोटोसुट गराएँ।

फोटोको कस्तो प्रतिकृया आइरहेको छ ?
भल्गर भनेर प्रतिक्रिया आइरहेको छ। यस्तो बेलामा पनि पेट देखाएर फोटो खिच्ने ? भनेर सामाजिक सञ्जालमा गाली गरेको देख्दा नरमाइलो लाग्यो। मैले त सम्झनाका लागि फोटो खिचेकी थिएँ तर नेपाली समाजले सहज रुपमा लिन सकेन।

फोटो कहाँ खिचेको हो ?
गोदावरीमा हो। बेलायतमा ड्रेस खोजेकी थिएँ पाइएन। अनि नेपाल आएर आफ्नो कन्सेप्ट अनुसारको ड्रेस डिजाइन गरेर यतै खिचाइयो।

मलाई त फोटो राम्रो लाग्यो।
हो ? धन्यवाद।

गर्भवती हुँदा पनि नाटक ‘महाभोज’मा अभिनय गर्नुभयो। कसरी ?
हामी एउटा थियटरमा काम गर्ने मान्छेलाई चुनौतीपूर्ण अवस्थामा काम गर्नु रोमाञ्चक लाग्छ। भनौं न म गर्भवती हुँदा गर्भवतीकै भूमिकामा अभिनय गर्न पाउनु मेरालागि त एकदमै सौभाग्यको कुरा थियो। त्यो जु-यो। यस्तो त सायदै अन्य व्यक्तिको जीवनमा जुर्छ होला। पहिलो अनुभव पनि थियो मेरो। त्यस्तो खाले अनुभव म शब्दहरुमा व्यक्त गर्नै सक्दिनँ किनभने त्यो जीवनमा नदोहोरिन पनि सक्छ। त्यो क्षण मेरालागि ज्यादै महत्वपूर्ण थियो।

तपाईँले अभिनय गर्नुभएको फिल्म ‘घरजम’ कहिले आउँछ त प्रदर्शनमा ?
च्यारिटीको हिसाबले काठमाडौँबाहिर रिलिज भइरहेको छ।

‘घरजम’पछि कुनै फिल्म छ ?
‘घरजम’ पछाडि फिल्म छैन। त्यति सारो फिल्ममा अफर आउँदैन पनि। आए पनि कतिको त भूमिका नै चित्त बुझ्दैन। अफर आइहाले पनि जे पायो त्यही फिल्म गर्न आँट पनि आउँदैन। राम्रो कुरेर बसुम् भने पनि एकदम मनपर्ने क्यारेक्टर लिएर कोही पनि आउँदैन। त्यति सारो इन्ट्रेस्ट पनि लाग्दैन। लगभग नाटकमै छु भनौं न।

कस्तो भूमिकाको अफर आइरहेको हुन्छ त ?
फिल्म भनुँ या नाटकमा मैले एउटा जुन क्यारेक्टर राम्रो गरेकी हुन्छु, डाइरेक्टरले त्यही देखेको हुन्छ। अब त्यस्तै खालको भुमिका लिएर आउनुहुन्छ। उदाहरणको लागि मैले ‘लट’मा भट्टी चलाउनेको भूमिका गरेँ। अब अर्कोले बनाउँदा मलाई भट्टीकै रोलमा सोच्नुहुन्छ। हाम्रोमा यस्तै चलन छ। एउटा क्यारेक्टरबाट त्यो कलाकार स्थापित भएको छ भने बारम्बार त्यही क्यारेक्टर उसलाई दिइन्छ। अर्को भूमिका पनि गर्न सक्छ भनेर एक्सपेरिमेन्ट गर्दैनन्। अर्को कुरा स्क्रिप्ट राइटिङमै के हुन्छ भने, सायद त्यो सोच्ने तरिका हो कि के हो समाजको, अब जनजाति भनिसकेपछि त्यस्तै क्यारेक्टर गर्छ होला भनेर दिइन्छ। प्रायः फिल्ममा जनजाति महिलालाई भट्टीकै भूमिका दिइरहेको हुन्छ नि ! स्क्रिप्ट राइटरले पनि जनजाति भनेपछि यही गर्ने अनि आर्यन भनेपछि यही गर्छ भन्ने पुरानो कन्सेप्ट छ। अब हेर्दै जाने हो भने अहिले रेस्टुरेन्ट चलाउने को छन् ? जनजाति छन् त ? आर्यन नै बढी छन् नि ! बिस्तारै आउला कि परिवर्तन !

त्यस्तो अनुभव भएको छ है ?
त्यो देखिन्छ नि ! केटीको मामलामा त सेन्टर क्यारेक्टर गर्दाखेरि फिल्म चल्दैन भन्ने छ। अहिले एक जना दया मात्र हो। अब बुद्धिलाई पनि ‘हैटहुइट’ भन्ने क्यारेक्टर मात्र दिइन्छ। जनजातिलाई पहिला खलनायक बनाउँथे, हिजोआज कमेडियन बनाइदिसक्या छन्। जनजाति भन्ने बित्तिक्कै कमेडी भूमिकामा सुहाउँछ भनेर हो कि के हो ? महिलाहरुले अझ पनि त्यो सेन्टर क्यारेक्टर धान्दैन भन्ने नै छ। हाम्रोमा अझै पनि लेडिजलाई हेर्ने नजर त डमी नै हो। चिट्टिक्क भए पुग्छ। घरमा पनि बुहारी ल्याउनु प-यो भने नबोल्दियोस् चिट्टिक्क भए पुग्छ। मेनस्ट्रिम फिल्ममा अझै पनि लेडिजहरुको न्यून उपस्थिति छ। अब केही भाइबहिनी आइरहनु भएको छ। अब ऊ पनि कोरियनजस्तै देखिन्छ भनेर ल्याइरहेको छ। उनीहरु कोरियन लुक्स देखिन्छ रे क्या ! अब नेपाली कथामा

कोरियन किन चाहियो ?
यदि तामाङको कथा छ भने तामाङ चाहियो, कोरियन किन चाहियो ? हाम्रै आइडेन्टी मासेर अरुको जस्तो देखिन्छ भनेर गर्ने ? नेपाली नै चाहिएको हो नि स्टोरी त ! अहिले केही फिल्म मेकर सिरियस हुन थालेका त छन् तर, हावाकै तालमा काम गर्ने धेरै छन्।

अझै जनजाति महिलालाई लिडमा देखिन गाह्रो छ है ?
गाह्रो नै छ नि ! अहिलेसम्म लिडमा कसले काम गर्न पा’छ र त्यसरी ? हाम्रो स्टोरी पनि लेखिँदैन त्यति सारो। सेन्टर क्यारेक्टरमा लेडिज राख्यो भने फिल्म नै चल्दैन भन्ने पुरानो धारणा छ। त्यही भएर पनि कति डराउँछन् तर ‘बुलबुल’ त चल्यो। लेडिज सेन्टर क्यारेक्टरमा भएको फिल्म राम्रो भयो भने त चल्दो रहेछ नि ! मैले गरेको ‘डाइङ क्यान्डल’ पनि सेन्ट्रल क्यारेक्टर भएको फिल्म नै हो। व्यावसायिक रुपले कमाएन, त्यो अर्को कुरा भो। तर, फिल्म निकै आर्टिस्टिक थियो। अब लेडिज सेन्ट्रल क्यारेक्टर भएको फिल्म नै कम बन्छ। त्यसमाथि भएभरको कलाकार जनजाति भन्दा पनि आर्यन नै छन्। अनि काम गरिरहेको मङ्गोलियन त ४/५ जना त छन् फिल्डमा। अनि उनीहरुले छान्दा आर्यन नै छान्छन्। मेकिङमा पनि आर्यन नै सक्रिय छन्। सायद लेखनमा अनि मेकिङमा जनजाति कम भएकाले पनि यस्तो भएको होला। हाम्रोहरुलाई फिल्म मेकिङमा त्यति धैर्य हुँदैन। बरु विदेश गइदिन्छन्। धेरै हिसाबले भनौँ न गाह्रो छ। त्यो कति त फिल नै हुन्छ।

कस्तो फिल ?
एउटा कार्यक्रम या अवार्ड हुँदा पनि आर्यन र जनजातिबीच अदृश्य रुपमा भेदभाव भइरहेको हुन्छ भन्ने दिनहरु सायद आउँछ होला। उनीहरु आफैँलाई विश्वास लागिरहेको हुँदैन कसरी यसले अवार्ड पायो होला भनिराखेको हुन्छ।

तपाईँले नेसनल अवार्ड जित्नुभयो। यस्तो कुनै अनुभव गर्नुभयो ?
मलाई त प्रायः अवार्डहरुमा जान पनि मन लाग्दैन। एकखाले भेदभाव भइरहेको हुन्छ। अवार्ड पाउँदा पनि आश्चर्य मानिरहेका हुन्छन्। उनीहरुको आँखाले नै प्रश्न गरिरहेको हुन्छ, कसरी यसले पायो होला भनेर। विचरा नै भनेर नै दिइयो कि भन्ने खालको क्या ! अब ‘डाइङ क्यान्डल’को प्रदर्शन भएको वर्षमा त्यो फिल्मसँग दाँज्ने फिल्म बनेको थिएन नि ! अब सेन्ट्रल क्यारेक्टरको हिसाबले, कामकै हिसाबले पनि। अलिकति बुझ्नेले नै मेरो ठाउँमा काम गरेको भए त्यो अवार्ड पाउँथ्यो होला। त्यो रोल गरेको हो भने त्यही व्यक्तिले नै पाउनु पथ्र्यो। अब सिंगापुर साउथ एसियन अवार्डमा न हाम्रो चिनजान हो न के हो, एकैचोटी बेस्ट एक्ट्रेसको अवार्ड दिएको थियो। हाम्रोमा भएको हो भने त ‘छक्का पञ्जा’ फिल्मले जित्छ। काम गरेर पाको भन्दा पनि आश्चर्य हुन्छ, उनीहरुले नै प्रश्न गरिरहेको मलाई अनुभव हुन्छ।

यसपालिको नेसनल अवार्ड जित्दा कति मिडियामा उत्कृष्ट हिरोइन भनेर बेनिशा हमाल र स्वस्तिमा खड्काको फोटो काटेर ग्रुप फोटो मात्र आयो। समाचार लेख्ने हो भने २०७३ को उत्कृष्ट किन छुटाउनु ? हो, यसरी सिध्याउन खोज्छन्।

नेशनल अवार्डमा विवादमध्ये एक्स्ट्रा क्याटोगोरीको विषयबारे के भन्नुहुन्छ ?
हो त। कति अवार्ड त एक्स्ट्रा क्याटोगोरीमा दिइएको थियो। नेशनल अवार्डले कसैलाई खुसी पार्न आवश्यक नै थिएन नि ! खुसी पार्नु भन्दा पनि व्यक्तिलाई हौसला दिने अवार्ड हो नि यो। एक्स्ट्रा अवार्ड दिने कुरामा मेरो पनि चित्त बुझेन। ‘छक्का पञ्जा’लाई अवार्ड दिनैपर्छ भन्ने के थियो ? राष्ट्रले कलात्मक हिसाबले काम गरेको फिल्म हेर्ने कि पैसा कति कमायो भनेर अवार्ड बाँड्ने ? यी सब जुरीमा भर पर्ने कुरा हो।

अहिले फिल्महरुमा थिएटरका कलाकार हावी छन् हैन ?
थिएटरका कलाकार गएर नै नेपाली फिल्म हेर्न लायक भएको हो भन्ने कुरा पनि छ। त्यो कुरा सत्य पनि हो। त्यसअघिको फिल्म हामीले हेर्दै आएको पनि हो। अर्को कुरा थिएटरमा १/२ महिना सिकेर फिल्ममा जानेहरु पनि छन्। थिएटरका कलाकार गएर राम्रो त भएको हो तर सिकारुहरुले बिगारिरहेका पनि छन्। रियल काम गर्ने २५ प्रतिशत छन्। तर, २/३ महिना ट्रेनिङ लिएर फिल्ममा गइहाल्नेहरु धेरै छन्। हामीलाई त अझै पनि सिक्नुपर्छ भन्ने छ।

अहिले कस्ता फिल्म बनिरहेका छन् जस्तो लाग्छ ?
केही वर्ष यतादेखि फिल्ममा निराश नै हुनुपर्छ भन्ने छैन। त्यहाँ आशा गर्ने ठाउँ पनि छ। पहिला नेपाली युवाले फिल्म हेर्थेनन्। हिजोआज हेर्न थालेका छन्। राम्रो फिल्म मेकरहरु आउनु भएको छ।

मूलधारे फिल्म काम गरिसकेपछि समाजले कस्तो कलाकारलाई हिरोइन देख्दो रहेछ त ?
हाम्रो समाज त अनुहारमा पनि जाँदैन। एकदम छोटो लुगा लगाउने, माथि हुन्छ कि तल हुन्छ कताकताबाट देखेको हुनुप¥यो। अनि त्यसको अनुहार जस्तो सुकै भए पनि मेकअप पोतिएको हुनुप¥यो। मेकअप पोतिएर उसको वास्तविक अनुहार नै छोपेपछि ओहो यो त खत्रा हिरोइन हो भन्ने खालको छ समाज। कसैलाई नम्बर वान हिरोइन भनिरहेको हुन्छ। कारण चैँ उसको ड्रेसअप र मेकअपले हुन्छ। कामको हिसाबले नम्बर वान हुन्छ कि ड्रेसअप र मेकअपले हुन्छ ? हिजोआज त यो युट्युबले पनि भर्खरको ठिकठिकैको हिरोइनलाई भोलिपल्ट इन्टरनेसनल हिरोइन नै बनाइदिन्छ। अनि उनीहरुलाई रिस उठ्यो भने पर्सीपल्ट झारिदिन्छन्।

नेपाली समाजले दयाहाङ राईलाई हिरो देख्दा सृजना सुब्बालाई हिरोइन देखेन त ?
महिलाको हिसाबमा केटा बराबरको हुँदैन। समाजले महिलालाई उसको कामको कर्तव्यको, इमान्दारिताको हिसाबले हेर्ने भन्दा पनि डमीको हिसाबले हेरिदिन्छन्। यसले हेर्दा ड्रेसअप र मेकअपले निर्धारण गर्छ।
हिरोइन त लुक्सको हिसाबले व्याख्या गर्छ। एकदम सिम्पल तरिकाले बाहिर हिँड्यो भने त्यस्तोलाई हिरोइन देख्दैन। जो दिखता है वही बिकता है लेडिजको हिसाबमा। दयालाई हिरो स्वीकारेको नेपाली समाजले जनजाति लेडिजलाई हिरोइन देख्न समय लाग्छ। दयालाई पनि त अहिले एउटै भूमिका दिएर दिक्क लगाएको छ। खाली कमेडी गराएको छ।

करिअर सुरु गर्दाका क्षण कसरी सम्झनुहुन्छ ?
खासमा मलाई इन्टरेस्ट फिल्ममा थियो। ११ कक्षा सकाएर उर्लाबारीबाट म काठमाडौं आएँ। त्यतिखेर भर्खर १८/१९ वर्षकी थिएँ। हङकङ जानको लागि म काठमाडौं आएकी थिएँ। भित्री मनमा भने फिल्ममा काम गर्ने मन थियो। मामासँग बस्थें त्यतिखेर। अनि हङकङको प्रोसेस चल्दा एकजना काकाले मेनपावरमा काम लगाइदिनु भयो। त्यहाँ नै मेरोे एकजना गाउँको फुपूसँग भेट भयो। उहाँ मोडलिङ गर्नुहुन्थ्यो। अनि उहाँले नै मिस्टर एन्ड मिस् ओमकार भन्ने कन्टेस्टमा बोलाउनु भयो। म गएँ र सेकेण्ड रनरअप भएँ। बिस्तारै हङकङ जाने रहर हराउँदै गयो। त्यसपछि मैले डान्स क्लास ज्वाइन गरें। राजन उप्रेतीले लेखेको नाटकमा १३ वर्षको एक पात्रको भूमिका गर्नुपर्ने अफर आयो। तीन दिनको रिहर्सलपछि ‘मैना’ भन्ने नाटकलाई पोखरामा देखायौं। त्यो नाटकबाट म बेस्ट एक्ट्रेस भएँ। हो, त्यति नै बेला नाटकबारे जान्ने मौका पाएँ। धेरै व्यक्तिहरु चिनेँ। मेरो यात्रा सुरुभयो नाटकमा। नाटकपछि फिल्म पनि सुरु गरें।

सुरुवातमा गाह्रो थियो होला ?
२/४ वर्ष त गाह्रो नै भएको थियो। विभिन्न बहाना बनाएर गाउँ बोलाउनु हुन्थ्यो आमाबुवाले। परिवारको आर्थिक सहयोग नभएको भए यहाँ टिक्न गाह्रो थियो। तर, जब मिडियामा मेरो विषयमा आउन थाल्यो, बिस्तारै परिवार सकरात्मक हुनुभयो। अनि कलाकारितामै छोड्नुभयो।

पति पदम त सपोर्टिभ हुनुहुन्छ होला नि ?
अँ, हुनुहुन्छ। अब उहाँको त परिवार नै फिल्ममा भयो। उहाँसँग त झन् कम्फर्ट छ।

शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १