अनेरास्ववियुद्धारा भारतीय महावाणिज्य दूतावास अगाडी प्रदर्शन



वीरगन्ज : सत्तारुढ दल नेकपाका निकट अनेरास्ववियूले भारतको नयाँ नक्सामा नेपाली भूमि कब्जा गरेको भन्दै आइतबार भारतीय महावाणिज्य दूतावास, वीरगन्ज अगाडी प्रदर्शन गरेका छन् । भूमि रक्षामा सम्पूर्ण नेपालीहरू एकजुट होऔँ, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, सीमा अतिक्रमण बन्द गर लगायत नारासहित भारत विरुद्ध चर्को नाराबाजी गर्दै दूतावास अगाडी प्रदर्शन गरेका हुन् ।

वीरगन्जको घण्टाघर चौकबाट नाराबाजी सहित निकालिएको विरोध जुलुस दूतावास मूल गेट अगाडी प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा अनेरास्ववियूका नेता उमेश गुप्ता, मित्रदेव यादव, अखिलेश साह, रेयाज अंसारी, हेमन्त तमाङ्ग, लगायतको सहभागिता रहेको थियो । त्यसैगरी देश बचाउ सङ्घर्ष समिति वीरगन्जले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर जलाएको छन्।

भारतले नेपाली भूमि कब्जा गरेको आरोप लगाउँदै घण्टाघर चौकबाट भारत विरुद्ध चर्को नाराबाजी गर्दै दूतावास अगाडी प्रदर्शन सहित भारतीय प्रधानमन्त्रीको तस्बिर जलाएका हुन् । सघर्ष समितिका संयोजक महमुद आलमको नेतृत्वमा रहेका मुन्ना मियाँ समानी, समिर अहमद, मंजर मियाँ अंसारी, फैयाज आलम लगायतका युवाहरूले भारतीय प्रधानमन्त्री मोदीको तस्बिर जलाएका छन् ।

प्रधानमन्त्री मोदीको तस्बिरमा आगो लगाई जलाएपछि दूतावासको सुरक्षाको लागि खटेका प्रहरी टोलीले आगो निभाउने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारी विच घम्साघम्सी समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्