गभर्नरले गरेनन् प्रदेश २ प्रहरी ऐन प्रमाणीकरण 



जनकपुरधाम : प्रदेश २ संसद्ले पारित गरेको प्रहरी विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले फिर्ता पठाएको छ । प्रमाणीकरणका लागि प्रदेश प्रमुख लालकहाँ पठाइएको उक्त विधेयकका केही बुँदा संविधानसँग बाँझिएकाले संशोधन प्रयोजनका लागि पुनः संसद्मै फिर्ता पठाइएको जानकारी स्रोतले दिएको छ ।

 

‘सिद्धान्तः संघीय प्रहरी ऐन बनिसकेपछि प्रदेश प्रहरी ऐन आउनुपर्ने हो । तर, प्रदेश सरकारले त्यस विषयमा ख्याल नगरी हतारमा प्रहरी विधेयक संसद्बाट पारित गराएकाले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाइएको हो,’ स्रोतले भन्यो ।

 

स्रोतका अनुसार प्रदेश संसद्बाट पारित प्रहरी ऐनमा कानुन निर्माणका आधारभूत सिद्धान्त र संघीय कानुनको समेत उल्लंघन भएका छन् ।

 

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी ऐन संसद्मा फिर्ता पठाइएको बारे आफू अनभिज्ञ नरहेको बताए । उनले भने, ‘प्रदेश प्रहरी ऐन प्रमाणीकरणका लागि प्रदेश प्रमुखकहाँ पठाइएको छ । एकदुई दिनमै त्यससम्बन्धी प्रक्रिया पूरा हुनेछ ।’

 

प्रदेश प्रमुख लालका स्वकीय सचिव कृष्ण यादवले प्रमाणीकरणका लागि आएको प्रहरी ऐनको पृष्ठसंख्या नमिलेकाले त्यसलाई व्यवस्थापन गर्न फिर्ता पठाइएको बताए । उनले भने, ‘पेज तलमाथि भएका छन् । त्यसलाई सच्चयाउन पठाएका हौं ।’ 

 

उनले ऐनमा खासै त्रुटि नभएकाले पाना सच्चिएर आएपछि प्रमाणीकरण हुने प्रस्ट पारे ।प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रह्मा ठाकुरले प्रदेश प्रमुखका कानुनी सल्लाहकारले प्रहरी ऐन अध्ययन गरिरहेको बताए । 

 

उनले भने, ‘दुईतीनमा अध्ययन सकिएपछि कानुनी सल्लाहकारको परामर्शमा प्रदेश प्रमुखले ऐन प्रमाणीकरण गर्नुहुनेछ ।’  

 

प्रमाणीकरण बाँकी रहेको प्रदेश प्रहरी ऐन संसद्मा फिर्ता पठाइएको विषयमा आफूलाई कुनै पनि जानकारी नरहेका प्रतिपक्षी दल कांग्रेसको संसदीय दलका नेता रामसरोज यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्