‘प्रदेश सरकारद्वारा स्थानीय तह उपेक्षित’ 



कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई अपहेलना गरेको भन्दै राष्ट्रिय गाउँपालिका महासंघ प्रदेश कमिटीले आपत्ति जनाएको छ । मंगलबार धनगढीका पत्रकारसँग कुरा गर्दै महासंघ पदाधिकारीहरूले स्थानीय तहसँग कुनै प्रकारको समन्वय नगरी प्रदेश सरकार मनोमानी ढंगले अगाडि बढिरहेको आरोप लगाएका छन् ।

 

प्रदेश सरकारले जनतामुखीभन्दा व्यक्ति तथा कार्यकर्तामुखी विकासका योजना र बजेट वितरण गर्द आएको उनीहरूको भनाइ छ । छविस पाथीभेरा गाउँपालिका बझाङका अध्यक्ष अक्कल धामीले प्रदेश सरकार संविधानविपरीत कार्य गरिरहेको बताए । उनले व्यक्तिविशेषका योजनालाई प्राथमिकता दिएर प्रदेश सरकारले राज्यकोषको दुरुपयोग गरिरहेको समेत दाबी गरे ।

 

मालिकार्जुन गाउँपालिका दार्चुलाका अध्यक्ष नरेन्द्र धामीले प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी आफूखुसी कार्यकर्तालाई योजना वितरण गर्नु राज्यका लागि दुःखको विषय बनेको बताए ।

 

स्थानीय जनता र जनप्रतिनिधिका समस्यालाई मध्यनजर नगरी राजधानीमा बसेर नीतिनियम बनाउने गरेको उनले आरोप लगाए । यसै कारण स्थानीय तहका नीतिनियम र योजना बाँझिने गरेको उनले बताए । 

 

प्रदेश सरकारलाई पटकपटक खबरदारी गर्दा समेत स्थानीय तहलाई बेवास्ता गरेको राष्ट्रिय गाउँपालिका महासंघ प्रदेश कमिटी अध्यक्ष दुर्गा ओझाले बताए । उनले भने, ‘हामी पटकपटक प्रदेश सरकारका मुख्यमन्त्रीलगायत सबै मन्त्रीलाई समन्वय गरौं भनेर कार्यालयमै गएका छौं ।’

 

उनले दुई आर्थिक वर्ष सम्पन्न हुँदासम्म प्रदेश सरकारले कुनै उपलब्धि दिन नसकेको बताए । उल्टै स्थानीय तहले गरिरहेका क्रियाकलापमा प्रदेश सरकारले बाधा पु¥याइरहेको उनको गुनासो छ ।

 

आफूहरूको सबैभन्दा नजिकको प्रदेश सरकारमात्रै रहेको भन्दै उनले प्रदेश सरकारले चाँडै आफ्ना क्रियाकलापलाई सुधार गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारलाई आफूहरूले ठूलो विश्वास गरे पनि धोका पाइएको अध्यक्ष ओझाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्