कार्यबाहक मुख्यमन्त्री नतोकी मुख्यमन्त्री अमेरिका पुगेपछि जनकपुरमा तरंग



काठमाडौं : रातो पासपोर्ट बनाउन निकै परिश्रम र अपमान बेर्होनुपरेको बताएका प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले रातो पासपोर्ट बनाएर अमेरिका उडेका छन् ।

तर उनले आफू अमेरिका पुगेपनि कसैलाई कार्यबाहक मुख्यमन्त्री नतोकी हिडेपछि मुख्यमन्त्री राउतको हुस्सुपनको चर्चा प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा ब्यापक बनेको छ । साथै मुख्यमन्त्री राउतको गैह्रजिम्मेवारी र अपरिपक्कपनको पनि ।

एशोसियसन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को साधारणसभामा भाग लिन मुख्यमन्त्री राउत अमेरिका पुगेका हुन् । जनकपुरमा मुख्यमन्त्री राउतले कुनैपनि मन्त्रीलाई कार्यबाहक मुख्यमन्त्री नतोकि हिडेकोमा आश्चर्यता सँगै विभिन्न टिकाटिप्पणी हुन थालेपछि र २ नम्बर मुख्यमन्त्री विहीन सरकार बनेपछि मुख्यमन्त्री राउतले फोनबाटै कार्यबाहक मुख्यमन्त्री तोकेका छन् ।

२ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव दिपक सुवेदीले यसको पुष्टि गर्दै बरियतामा दोस्रो नम्बरमा रहेको भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनालले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएको बताए ।

तर प्रदेश सरकारको प्रमुख मुख्यमन्त्रीले फोनबाटै कार्यबाहक मुख्यमन्त्री तोक्न मिल्ने नमिल्नेमा पनि जनकपुरमा बहस शुरु भएको छ । कानुनविदहरु यसरी मौखिक वा फोनबाट कार्यबाहक मुख्यमन्त्री तोक्नु गलत भएको तर्क अघि सार्दै त्यो गैह्रकानुनी भएको बताउछन् । अधिवक्ता मधुर शर्माले यसरी कार्यबाहक मुख्यमन्त्रीको वैधतामा प्रश्न उठ्ने धारणा व्यक्त गरे । अधिवक्ता शर्माले कार्यबाहक मुख्यमन्त्रीलाई मुख्यमन्त्रीले आफ्नो अनुपस्थितिमा जिम्मेवारी लिखित रुपमा दिनुपर्ने र यो कुरा प्रदेश प्रमुखलाई जानकारी गराउनुपर्ने बताउछन् ।

यस विषयमा बहस पनि शुरु भएको छ । यस्तो विवाद र बहस शुरु भएपछि फोनबाटै कार्यबाह जिम्मेवारी पाएका मन्त्री सोनाल भने अन्योल र अप्ठ्यारोमा परेका छन् । फोन गरेर कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएको तर लिखित जिम्मेवारी नपाएका मन्त्री सोनाल स्वयम् पनि यसबारे निर्णयमा पुग्न सकेका छैनन् । मुख्यमन्त्री राउत आगामी मंसिर ४ गते अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्