‘नेपाल भ्रमण वर्ष–२०२०’ : शुभारम्भको तयारी गर्दै कर्णाली



कर्णाली : कर्णाली प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भको भव्य तयारी कार्य थालेको छ । नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल पार्न थालेको तयारीसँगै कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शुभारम्भको तयारीलाई तीव्रता दिएको हो ।

यसका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही संरक्षक र पर्यटनमन्त्री नन्दसिंह बुढा अध्यक्ष रहनेगरी ३१ सदस्यीय ‘कर्णाली प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति’ गठन गरिसकेको छ ।

भ्रमण वर्षलाई स्वागतयोग्य, सफल र सुखद् बनाउन पाहुनालाई दिन सकिने सेवा तथा छुट सुविधाका लागि होटल तथा यातायात व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढाले राससलाई जानकारी दिए । “यसका लागि मङ्सिर ३ गते सर्वपक्षीय बैठक आह्वान गरिएको छ”, मन्त्री बुढाले भने, “त्यसले भ्रमण वर्ष शुभारम्भ दिनलाई भव्य बनाउन सहयोग पुग्ने छ ।”

संरचना निर्माण, प्रदेशको नीतिगत सुधार र २०२० जनवरी १ नेपाल भ्रमण वर्षको शुभारम्भ दिनको महत्व बढाउन यस अघि छलफल भएको र यसलाई मूर्तरुप दिन पुनः सरोकारवालासँग छलफल गरिने उनले बताए । उनका अनुसार कर्णाली तथा भेरी करिडरको पुलको निर्माण कार्य अवस्था अध्ययन, पहाडी जिल्लाका लागि हेलिकप्टर तथा नेपाल एयरलायन्सलाई कर्णाली केन्द्रित गर्न, कर्णालीका २१ मध्ये चार हिमाल मात्र आरोहणको अनुमति पाएकाले साहसिक पर्यटकका निम्ति थप हिमालको आरोहणको अनुमति दिन सङ्घीय सरकारसँग अनुरोध गरिएको छ ।

“हामीले नेपाल भ्रमण वर्षमा अपेक्षित पर्यटक भित्र्याउने योजना तयारी गरिरहेका छौँ”, रासससँग कुरा गर्दै उनले भने, “त्यसका लागि संरचना निर्माण गर्दैछौँ ।” कर्णाली तथा भेरी करिडरका सडक निर्माणका ठूलो आयोजना सम्पन्नका लागि केन्द्रीय सरकारसँग आग्रह गरिएको मन्त्री बुढाको भनाइ थियो । मन्त्रालयका पर्यटन शाखाका शाखा अधिकृत अञ्जु चौधरीले राष्ट्रिय पहिचान बोकेका कर्णालीका २० र प्रदेश सरकारले पहिचान गरेका २० गरी ४० पर्यटकीय गन्तव्य भ्रमणका लागि आकर्षका कार्यक्रम बनाइने राससलाई जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले भने १०१ पर्यटकीय क्षेत्र पहिचान गरेको उनको भनाइ थियो । अधिकृत चौधरीका अनुसार आगामी मङ्सिर ३ गतेको बैठकमा मन्त्रालयले कर्णालीका पर्यटकीय गन्तव्यको महत्व र विशेषताको उजागर गरिने छ । त्यस्तै, प्रादेशिक पर्यटन प्रवद्र्धन समितिअन्तर्गतका गठन हुने प्रचारप्रसार विभाग, होटल ट्राभल तथा ट्रेकिङ विभाग, मानव संसाधन तथा व्यवस्थापन, आर्थिक, पर्यटन उत्पादन तथा सांस्कृतिक विभाग र सचिवालयले भ्रमण वर्षको शुभारम्भ दिनलाई प्रभावकारी बनाउने जनाइएको छ ।

मन्त्रालयको पर्यटन आगमन सर्वेक्षण २०७५ र अध्यागमन विभाग काठमाडौँको तथ्याङ्कअनुसार कर्णालीमा गत आव २०७५÷०७६ मा बाह्य पर्यटक २१ हजार २९१ र आन्तरिक पर्यटक चार लाख ५४ हजार ८६४ आएको देखिएको छ । प्रदेश सरकारले चालू आवमा राराताल, से–फोक्सुण्डो ताल, पचाल झरना, कैलाश मानसरोवर पुग्ने पर्यटकको सुरक्षा, सुविधा र सडक सहजतामा आवश्यक ध्यान दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्