समृद्ध नेपालको सारथि बन्न सक्छ बंगलादेश



काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण सकेर शुक्रबार स्वदेश फर्किए। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए। उनले नेपाल बसाइका क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेतासँग भेट गरे।

दुई पक्षीय भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुधार गर्ने, व्यापार, पर्यटन, लगानी, ऊर्जा र जलवायु परिवर्तनलगायत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। दुई मुलुकबीच दुई पक्षीय चासोका विषयमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा समेत सहकार्य गर्ने सहमति भएको छ।

नेपाल बसाइका क्रममा राष्ट्रपति हमिदले पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्र र काठमाडौं र भक्तपुरका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका क्षेत्रको समेत भ्रमण गरे।

दूरीका हिसाबले नजिक रहेको मित्रराष्ट्र बंगलादेश नेपालका लागि विभिन्न कारणले महत्वपूर्ण रहेको जानकारहरू बताउँछन्। बंगलादेशका लागि निवर्तमान राजदूत डा. चोपलाल भुसाल नेपालले बंगलादेशसँग पारवहन, ऊर्जा, व्यापार र पर्यटनका क्षेत्रमा सहकार्य गर्न सके त्यसले नेपालको अर्थतन्त्रमा सुधार गर्न मद्दत पुग्ने उल्लेख गर्छन्।

उनका अनुसार प्रधानमन्त्री ओलीले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको सपनालाई पूरा गर्न बंगलादेशसँगको सहकार्यले मद्दत पु-याउँछ। ‘पारवहन, ऊर्जा, व्यापार र पर्यटनका क्षेत्रमा बंगलादेशसँगको सहकार्य नेपालको अर्थतन्त्रमा राम्रो सुधार आउन सक्छ,’ उनी भन्छन्, ‘बंगलादेश समृद्ध नेपालको सारथि बन्न सक्छ।’

लामो समयपछि बंगलादेशका तर्फबाट भएको उच्चस्तरीय भ्रमणले त्यो सम्भावनालाई अझ बलियो बनाएको उनको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्