हमाल पत्नी मधु भट्टराई भन्छिन्- ‘बच्चा जन्माउने विषयमा सोचेकै छैनौं’



  • दाम्पत्य जीवन कस्तो चल्दैंछ ?

एकदमै राम्रो चलिरहेको छ ।

  • राजेश सर, निकै व्यस्त हुनुहुन्छ । कहिलेकाहिँ दिक्क लाग्दैन् ?

उहाँ सधै व्यस्त । मलाई उहाँको बारेमा पहिले पनि थाहा थियो, अहिले पनि थाहा छ । अहिले एक्कासी उहाँको ब्यस्तता बढेको होइन् ।

  • कहिलेकाहीँ त वाक्क लाग्छ होला है ?

स्वभाविकै हो । सकेसम्म सधै सँगै रहौं भन्ने कसलाई हुँदैन र ? तर, उहाँले महत्वपूर्ण समयमा साथ दिइराख्नुभएको छ । बाहिर कतै हुनुभयो भने फोनमा कुरा भैरहेको हुन्छ । खासै त्यस्तो एक्लो महसुस गराउनुभएको छैन । लामो समयको विदेश भ्रमणपछि नेपाल आउनुभयो भने तुरुन्तै हामी कतै घुम्न गएका हुन्छौं ।

  • नाम चलेको अभिनेताको श्रीमती हुनुहुन्छ, मनमा कत्तिको घमण्ड आउँछ ?

मलाई घमण्ड कहिल्यै आएन । तर, प्राउड फिल हुन्छ ।

  • हमाल–भट्टराई जोडिको सम्बन्धको सुरुवात् कसरी भएको थियो, विगत फर्किनुस् न ?

बौद्धमा रहेको हायात होटेलमा एउटा कार्यक्रम ‘लक्स ब्युटी स्टार’ कन्टेस्टमा सहभागी थिएँ । उहाँ त्यो कार्यक्रमको निर्णायक हुनुहुन्थ्यो । कार्यक्रम सकिएपछि एउटा पार्टी पनि आयोजना भएको थियो । उक्त पार्टीमा उहाँले सँगै नाचौं भन्नुभयो । तर, मेरो खुट्टामा घाउ भएकाले नाचिनँ । केही समयपछि छुट्टिने बेलामा उहाँले आफ्नो भिजिटिङ कार्ड दिनुभयो । यहि हो, हाम्रो सम्वन्धको पहिलो सुरुवात् ।

  • कार्ड दिएपछि तपाईँले कहिले फोन गर्नुभयो ?

एक हप्तापछि ।

  • पहिलो फोनमा कति मिनेट कुरा भयो ?

खासै धेरै बेर त भएन । अर्को कुरा उहाँ फोनमा निकै कम कुरा गर्नुहुन्छ ।

  • पहिलो डेटिङको सम्झना छ ?

पहिलो पटक फोन गरेको दिन उहाँ झापा हुनुहुँदोरहेछ । उहाँले भोलि म काठमाडौं फर्किनेवाला छु, मेरो वर्थ डे पनि हो । सँगै डिनर गरौं न भन्नुभयो । मैले हुन्छ भने । सायद, सांग्रिला होटलमा भएको उक्त भेट नै हाम्रो पहिलो डेटिङ हुनुपर्छ ।

  • पहिलो भेटमा कतिबेर गफिनुभयो ?

लगभग दुई घण्टाजति त बस्यौं कि !

  • भेटमा के–के भयो ?

के हुनु र ? त्यो दिन उहाँको जन्मदिन थियो । आ–आफ्ना कुराहरु सेयर गरियो । गफगाफसँगै डिनर पनि गरेर छुट्टियौं ।

  • राति कसरी घर फर्किनुभयो ?

उहाँले आफ्नो आफ्नो गाडीमा छोडिदिनुभयो ।

  • तपाईहरुमध्ये दुईजनामध्ये सुरुमा प्रेम प्रस्ताव कसले राख्यो ?

उहाँले कहिल्यै प्रेम प्रस्ताव राखेको याद छैन । मैले पनि कहिल्यै प्रस्ताव राखेकी छैन । हामी दुवैले एकले अर्काको मायालाई महसुस गरेर नजिक भएका हौं जस्तो लाग्छ ।

  • विहे भएको लामै समय भयो । बच्चा नजन्माउने ?

अहिले त्यस विषयमा कुनै योजना छैन । हामीले यस विषयमा सोचेकै छैनौं ।

  • शुभचिन्तकहरुले त सोधेर हैरान पार्नुहुन्छ होला नि ?

हाहाहा…, सोध्नुहुन्छ । यस विषयमा खासै जवाफ दिइराख्नुपर्छ जस्तो लाग्दैन ।

  • राजेश सर निकै हाँसोका साथ गफ गर्नुहुन्छ, कहिल्यै कसैसँग रिसाएको देखिन्न । घरमा पनि त्यस्तै हो ?

खासै रिसाउने बानी त छैन । तर, रिसाउनुभयो भने निकै डेन्जर हुनुहुन्छ ।

  • डेन्जर मतलब ?

धेरै दिनसम्म नबोलेरै बस्ने स्वभाव छ ।

  • राजेश सरका बारेमा एउटा गोप्य कुराको रहस्य खोलिदिनुस् न । उहाँले चुरोट रक्सी, खैनी खानुहुन्छ कि खानुहुन्न?

खानुहुन्न । मैले अहिलेसम्म देखेको पनि छैन । तर, २५–३० वर्षको उमेरमा बियर धेरै खानुहुन्थ्यो रे ।

  • कहिलेकाहीँ पार्टीमा वाइनको गिलास देखिन्छ नि?

हो, तर त्यो नाटक मात्रै । पहिल्यैदेखि मैले चिनेअनुसार एक गिलास वाइन लिएर पार्टीभर पुराइदिने चलन छ ।

रामजी ज्ञवाली,साप्ताहिक





प्रतिक्रिया दिनुहोस्