वायुसेवा निगममा अर्को घोटाला



काठमाडौं : भ्रष्टाचारका विभिन्न काण्ड हुँदै आएको नेपाल वायु सेवा निगममा अर्को घोटाला शुरु भएको छ । लाउडादेखि वाईडबडी विमान खरिदमा ठूलो भ्रष्टाचार हुँदै आएको निगमममा अहिले खरिद होईन बिक्रीमा घोटाला हुन थालेको हो । श्रोतका अनुसार घोटालामा निगमका कार्यकारी अध्यक्ष मदन खरेल स्वयमको प्रत्यक्ष संलग्नता देखिएको छ ।

लामो समयदेखि ग्राउण्डेड रहेका निगमका विमानहरु बिक्री गर्ने चलखेलसँगै भ्रष्टाचारको गन्ध आएको छ । निगम नेतृत्वले हवाई माफियाको डिजाईनमा आवश्यक प्रकृया अगाडी बढाएको निगम श्रोतको दाबी छ । निगम श्रोतका अनुसार निगमको विमानलाई मिलिभगतमा कौडीको भाउमा बेच्ने तयारी भइरहेको छ ।

करिब एक वर्षदेखि ग्राउण्डेड विमान बिक्रीका लागि असार र भदौमा बोलपत्र आह्वान गरिएपनि त्यो बेला जहाज किन्नेले निगमले तोकेजति पैसा तिर्न तयार भएनन् । निगमले त्यसबेला तोकेको मूल्य ८५ करोड रुपैयाँ तिर्न कसैले नचाहेका हुन् । तर, अहिले आएर फेरी त्यो जहाज बेच्ने शुरु गरेको निगमले थोरै मूल्य तोकेकोे छ । अहिले उक्त जहाजको ४८.५ करोड सुरुवाती मूल्य तोकिएको छ । यसरी एकैचोटी ह्वात्तै मूल्य घटाएपछि भ्रष्टाचार गर्नको लागि यसो गरिएको हो कि भन्ने आशंका पैदा गराएको हो ।

अघिल्लो समयमा बोलकबोलमार्फत बोइङ ७५७–२०० विमान बेच्न नसकेपछि नेपाल वायुसेवा निगमले ’आपसी वार्ता’ गरेर विमान बेच्ने प्रक्रिया सुरु गरेको जनाइएको छ । तर यसमा भ्रष्टाचार गर्न पल्केकाहरुले नै त्यो प्रकृयाबाट जहाज बेच्न नदिएको बताइन्छ ।

तर निगम श्रोतले भने दुई पटक सूचना प्रकाशन गर्दा समेत बिक्री नभएपछि सम्झौताबाटै टुङ्गो लगाउने गरी काम अगाडि बढ्न लागेको बताएको छ । निगमले हाल अघि बढाएको प्रक्रिया उसको आर्थिक नियमावली २०६५ अन्तर्गतको हो। उक्त नियमावलीको नियम २४० को कार्यविधि अनुरूप प्रक्रिया अघि बढेको निगमका सह–प्रवक्ता सुलेख मिश्र बताउँछन् ।

नियमानुसार विमान वा इन्जिन बिक्री वा लिलामी गर्दा ४५ दिनको सूचना दिई तीनपटक सम्म राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गर्नु पर्ने उल्लेख छ ।

पहिलो सूचनाका आधारमा बिक्री गर्न नसके १५ दिनको म्याद तोकेर दोस्रोपटक सूचना दिने र त्यसमा समेत अपेक्षाकृत नतिजा प्राप्त गर्न नसके ’आपसी वार्ता’ को आधारमा समेत सिधै बिक्री गर्न सकिने कार्यविधिमा उल्लेख छ । यसअघि पनि निगमले जहाज बिक्री गरेको थियो ।

त्यसबेला निगमले अमेरिकी हवाईजहाज निर्माता बोइङको दुईवटा न्यारो बडी जहाज बिक्रीमा राखेको थियो। युरोपेली उत्पादक एयरबसले निर्माण गरेको जहाज खरिद गरेसँगै बोइङलाई प्रतिस्थापन गर्नका लागि निगमले ती दुई विमान बेच्न लागेको हो ।

यस अघि कल साइन .एन.एसीए रहेको बोइङ ७५७–२०० विमान पनि आपसी वार्ताको माध्यमबाट गैरआवासीय सङ्घका पूर्वअध्यक्ष भवन भट्टको बीबी एअरवेजलाई बेचिएको थियो । उक्त विमान कति रकममा बिक्री गरिएको हो भन्ने कुरा निगम अधिकारीहरूले बताएका छैनन् । तर उक्त विमान १२ करोडमा बेचिएको विवरणहरू सार्वजनिक भएसँगै कतिपयले त्यसको पार्टपुर्जाको पनि त्योभन्दा महँगो पर्ने बताएका थिए ।

निगमका विषयमा जानकारका अनुसार निगममा मिलेमतोमै सबै कुरा हुने बताउँछन् । ठूलो रकमको कारोबार हुने सरकारी काम कारबाहीमा त्यस्ता किसिमका प्रवृत्ति देखिने गरेको श्रोतको दाबी छ । उच्च श्रोतका अनुसार बाहिरका व्यवसायी वा इच्छु्क पक्षलाई भ्रममा पार्ने समेत गर्ने प्रवृत्ति कर्मचारीतन्त्रमा रहेको छ । विदेशका ठूला खरिदकर्ता नआए पनि क्षेत्रीय एअरलाइन्सहरुले निगमको विमान किन्नसक्ने सम्भावना रहे पनि त्यो हुन नदिन माफियाले ठूलो भूमिका खेलेको हुन सक्छ । निगमको हकमा त त्यस्तो पटकपटक हुने गरेको श्रोतको दाबी छ । यस विषयमा नेपाल वायुसेवा निगमका पूर्वक्याप्टेन वाइ के भट्टराईले कमिसनका कारण निगमले विमान किन्दा वा बिक्री गर्दा यस्तो किसिमको प्रवृत्ति देखिने गरेको बताए। उनले भने –”पारदर्शी रूपमा गरिएको भए विमान बिक्री गर्ने कुरा यसरी अड्किने कुरा होइन ।”

भट्टराईका अनुसार यसअघि बिक्री गरिएको जहाज उडाउने स्थितिमा थिएन। तर यो विमान भने सन् २०२० को सुरुवाती महिनासम्ममा उडाएरै लान सकिने अवस्थामा छ ।

निगमले यो जहाज जसरी पनि बेच्नुपर्ने बताएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन अर्थात आइकाओको मापदण्ड अनुसार उक्त विमान सन् २०२० को मार्चसम्ममा नबेचे नेपालबाट उडाएर लान सकिदैन ।

प्रतिक्रिया दिनुहोस्