भीमफेदी कारागारबाट कैदी फरार



हेटौँडा : मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्म कैदको सजाय काटी रहेका र पाँच वर्षसम्म जेल जीवन बिताइसकेका चितवन घर भएका ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए ।

कारागारलाई सुरक्षित राख्न र कैदीबन्दी नभागुन भन्नका लागि १२ फिटभन्दा अग्लो पर्खाल लगाएर काँडे तारसमेत कसेर मजबुद बनाइएको कारागार परिसरबाट बन्दी कसरी भागे भन्ने अनुसन्धान भइरहेको कार्यालय प्रमुख खनालले जानकारी दिए ।

पर्खालको केही सानो भागमा तारहरु लत्रिएको देखिएकाले बन्दी धामी त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको छ । फरार धामीको व्यापक खोजी भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्