तीन राजदूत फिर्ता बोलाइए



काठमाडौं : सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले बताए ।

उनका अनुसार ती राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ । भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन् । 

सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन ।

कांग्रेस कोटामा नियुक्त बाँकी चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपानिकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन् ।

सरकारले राप्रपा कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फर्काई त्यहाँ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमोका लागि नाम पठाइसकेको छ ।

देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् भने पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई यथावत् राख्ने तयारी सरकारको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्